१७ कार्तिक
योगराज ढकाल ‘रिगल’ लाई जिल्ला अदालत बाँकेले जिल्ला कारागार पठाएको हो । थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको हो ।
सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो ।
जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताउनुभयो ।
‘रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ । कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो,’ उहाले भन्नुभयो ।
रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटनुभएको थियो । सरकारको सिफारिसमा उहालाई राष्ट्रपतिले कैद मिनाहा गरिदिनुभएको थियो । उहाको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो ।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्नुभएको थियो ।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गर्नुभएको थियो ।
