तुलसीपुर, भाद्र ७
अहिले दैनिकजसो तुलसीपुर बजार क्षेत्रका अस्प्ताल तथा क्लिनिकमा डेंगुका संक्रमितहरुआउने बिरामीहरुमा सामान्य र मध्यम खालको डेंगु पुष्टि हुने गरेको छ भने जटिल खालको डेंगु पनि देखिएको छ ।
राप्ती लाइफ केयर अस्पतालबाट मंगलबारसम्म पाँचजना बिरामी भर्ना भएर उपचार गराइरहेका थिए । तीमध्ये जटिल खालको डेंगु संक्रमित सल्यान जिल्लाकी एकजना महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो । उहाँको स्वास्थ्यमा अन्य समस्याहरु पनि देखिन थालेपछि मंगलबार बेलुका थप उपचारका लागि उहाँलाई रिफर गरिएकोे उपचारमा संलग्न जनरल फिजिसियन डा. मुक्ति थापाले बताउनुभयो । अवस्था जटिल भएकोले आइसियुमा राखेर उपचार गरिरहेको र उहाँको सेतो रगतको कमी हुने समस्या देखिएको थियो डा. थापाले भन्नुभयो ।
‘उहाँको स्वास्थ्यमा अन्य समस्याहरु पनि देखिन थालेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो । अस्पतालबाट मंगलवार दुईजना र बुधवार एकजना भर्ना भएर उपचार गराइरहेका डेंगु संक्रमितलाई डिस्चार्ज गरिएको छ भने बुधबार थप एकजनालाई भर्ना गरिएको छ । अहिले लाइफ केयरमा दिनहुँजसो ३÷४ जना बिरामीमा डेंगु संक्रमण पुष्टि भइरहेको उहाँले जानकारी दिनुभयो ।
राप्ती प्रादेशिक अस्पतालमा बुधबारसम्म पाँचजना डेंगु संक्रमितहरुले उपचार गराइरहेका छन् । उपचार गराइरहेकाहरु सबै मध्यम खालको डेंगु संक्रमित भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । ‘सामान्य खालको समस्या भएकाहरुलाई औषधि दिएर पठाइन्छ । भर्ना गर्ने मध्यम र जटिल खालका बिरामीलाई हो । मध्यम खालका बिरामीलाई एक हप्ताभित्रै डिस्चार्ज गर्न सकिन्छ भने जटिल खालका बिरामीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । १५÷२० दिन पनि लाग्न सक्छ’उहाँले भन्नुभयो ।
दीर्घरोगी तथा ज्येष्ठ नागरिकहरुमा संक्रमण हुँदा साधारण खालको संक्रमणले पनि बढी समस्या देखिन सक्छ । सामान्यतया डेंगु संक्रमण हुँदा लगातार ज्वरो आउने, जीउ दुख्ने, खाना नरुच्ने, कमजोरी महसुस हुनेलगायतका समस्या देखिन्छन् ।
जटिल खालको डेंगु संक्रमण हुँदा आन्तरिक तथा बाह्य रक्तश्राव भएर रगत चढाउनुपर्ने, रक्तचाप कम हुने, मिर्गौला, मुटु तथा कलेजोमा असर गर्नेलगायतका समस्या हुन सक्छन्य । यस्तो अवस्थामा आइसियुमा राखेर उपचार गर्नुपर्ने डा.अधिकारीले बताउनुभयो ।
राप्ती प्रादेशिक अस्पतालमा भदौ महिनामा मात्रै लक्षण देखिएका ६० बिरामीको डेंगु जाँच गरिएको छ । जसमा दुई जनामा संक्रमण देखिएको छ भने पाँच जनाले भर्ना भएर उपचार गराइरहेका छन् । त्यस्तै असार महिनामा एक सय २६ जनाको जाँच भएकोमा एकजना संक्रमित देखिएका थिए भने दुई जनालाई भर्ना गरेर उपचार गरिएको थियो । साउन महिनामा तीन सय ४८ जनालाई जाँच गर्दा छ जना संक्रमित भेटिएका थिए भने २० जनाले भर्ना भएर उपचार लिएको अस्पतालका सूचना अधिकारी भूषण सुवेदीले जानकारी दिनुभयो ।
तुलसीपुरमा देखिदै डेंगुका बिरामी

