काठमाडौं,३ भदौ
सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा केदार शर्मा दम्पतीले १०० ठाउँमा जग्गा खरिद गर्नुका साथै ११६ वटा गाडी किनेको पाइएको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केदारनाथ शर्मा विरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
शर्माले शिव शिखर सहकारी र तुलसी सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन गर्नुभएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सहकारीको रकम अपचलन गरेर निजी कम्पनीहरुमा लगाएका शर्माविरुद्ध ६ अर्ब ३ करोड ९ लाख ८७ हजार ३८५ रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।
त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा उनको थप बदमासी खुलेको छ । अनुसन्धानका क्रममा शर्मा दम्पत्तिले १०० ठाउँमा जग्गा जग्गा खरिद गर्नुका साथै ११६ वटा गाडी किनेको पाइएको छ ।
शर्मासहित ९ जनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा ३२ साउनमा मुद्दा दायर भएको छ । शर्माकी श्रीमती तथा शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मा, शिखर अर्गनाइजेसनका म्यानेजर पुस्कर मल्ल, शिव शिखरको भक्तपुरका सञ्चालक समिति अध्यक्ष सुशील बानियाँ, व्यवस्थापक लीलानाथ गौतम,सचिव तेजबहादुर तामाङ, मन्दीप खवास, सबिना न्यौपाने र शिव शिखरका ऋण अधिकृत मुकुन्द कपालीलाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीमध्ये केदार, उनकी श्रीमती गीता, पुस्कर, मन्दीप र सबिना सहकारीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । बाँकी चार जना भने फरार छन् । फरारमध्ये कपालीलाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ । उनीहरुले सञ्चालन गरेका २२ वटा संस्था तथा कम्पनीको सम्पत्ति जफत गर्न माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ को (क), (ख र (ग) अन्तर्गतको कसुर गरेको ठहर गर्दै शर्माविरुद्ध २२ अर्ब, ८८ करोड ९५ लाख ७० हजार ४१५ रुपैयाँ बिगो मागदाबी गरिएको न्यायाधिवक्ता दाहालले बताउनुभयो।
शर्माकी श्रीमती गीताविरुद्ध ५२ करोड, ३३ लाख ३२ हजार २१४, लिनाथविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । तेजबहादुरविरुद्ध ७१ करोड ९ लाख १८ हजार ७९५ रुपैयाँ, सुशीलविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८०२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
पुस्करविरुद्ध १० करोड ६३ लाख २२ हजार ९०३, सबिनाविरुद्ध १ करोड २४ लाख र मन्दिपविरुद्ध २० लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो । उनीहरुले शिव शिखर र तुलसी बहुमुखी सहकारी संस्थाको पदाधिकारी तथा कर्मचारी भएका बेला सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।
सहकारी ठगिबट एक दम्पतीको नाममा १०० ठाउँमा जग्गा, ११६ वटा गाडी

