लिवाङ,२ भदौ ।
रोल्पा नगरपालिका वडा नम्वर २ मा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उक्त नगरपालिकाको वडा नम्वर २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका १० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक भरत लामाका अनुसार शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ । अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ पूर्वीरुकुम सडकखण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको बागलुङ पूर्वीरुकुम सडकखण्ड अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला गाउँपालिका ६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ पूर्वीरुकुम सडकखण्ड अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।

