राष्ट्रिय परिचयपत्र बितरणमा बिकल्प खोजीदै

By Sushil basnet २१ श्रावण २०८१, सोमबार ०१:१३ २१ श्रावण २०८१, सोमबार ०१:१३ २१ श्रावण २०८१, सोमबार ०१:१३

काठमाण्डौ, २० साउन
राष्ट्रिय परिचयत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक संख्यामा छापेर दिन नसकेपछि सरकारले यसमा वैकल्पिक उपाय खोजी गरेको छ ।
अब राष्ट्रिय परिचयपत्र प्रिन्ट गर्दा पहिले बेलैमा लाइसेन्स नपाएका चालकहरुलाई र त्यसपछि ज्येष्ठ नागरिकहरुलाई दिने सरकारको तयारी छ ।
यातायात व्यवस्था विभागका अनुसार अहिले सबै प्रक्रिया पूरा गरेर छपाइ हुन बाँकी लाइसेन्सको संख्या २१ लाख नाघेको छ । प्रदेशहरुबाट दैनिक रुपमा ठूलो मात्रामा सर्वसाधारणले लाइसेन्स परीक्षा पास गर्नुका साथै पुरानो लाइसेन्स नवीकरण गरिरहेका छन् । चालकहरुले लाइसेन्स परीक्षा पास गरेपछि राजस्व तिर्दा पाएको रसिदलाई नै लाइसेन्सको सट्टामा प्रयोग गरिरहेका छन् ।
यातायात व्यवस्था विभागमा रहेको एउटा मास प्रिन्टरर्ले बाँकी लाइसेन्स प्रिन्ट गर्न सम्भव छैन भने विभागसँग मागअनुसार लाइसेन्स छाप्न पुग्ने कार्ड पनि छैन । ठेक्का प्रक्रियामा भइरहेको अलमलले लाइसेन्स छाप्ने मेसिन र कार्डको आपूर्ति पनि हुन सकेको छैन ।
त्यसैले अब स्मार्ट लाइन्सेन्सको प्रक्रिया पूरा गरेकाहरुलाई प्राथमिकताका साथ राष्ट्रिय परिचयपत्र दिने र त्यसबाट लाइसेन्स छपाइको समस्या समाधान गर्ने तयारी गरिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिलेसम्म १ करोड ५४ लाख जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण भर्नुका साथै बायोमेट्रिकसहित फोटो खिचाएका छन् ।
त्यसमध्ये करिब ४५ लाख जनाको राष्ट्रिय परिचयपत्र छापिएको छ भने एक करोड १० लाख कार्ड छाप्न बाँकी रहेको विभागका महानिर्देशक युवराज कट्टेलले जानकारी दिनुभयो ।
महानिर्देशक कट्टेलका अनुसार अब लाइसेन्स प्रिन्ट नभएकाहरुलाई प्राथमिकताका साथ राष्ट्रिय परिचयपत्र दिइनेछ । विद्युतीय चिप्ससहितको राष्ट्रिय परिचयपत्रलाई लाइसेन्स प्रणालीमा अन्तरआवद्ध गरिएकाले अब राष्ट्रिय परिचयपत्रले नै लाइसेन्सको काम गर्नेछ । यसका लागि लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीहरुलाई रिडर मेसिन (क्युआर स्क्यानर डिभाइस) दिने सरकारको योजना छ ।
अहिले विवरण नभरेकासमेत गरी करिब १ करोड ९० लाख जनालाई थप राष्ट्रिय परिचयपत्र दिनुपर्ने अनुमान छ । विभागसँग अब करिब ७५ लाख वटा चिप्ससहितको कार्ड छ । यसले अहिलेसम्म विवरण भरिसकेका र अब भराउनेहरु सबैको परिचयपत्र छाप्न पुग्दैन ।
७५ लाखमध्ये २१ लाख स्मार्ट लाइसेन्स नपाएर बसेका सवारी चालकहरु र ३८ लाख सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीहरुलाई प्राथमिकता दिएर कार्ड छाप्ने विभागको तयारी छ । त्यसपछि परिचयपत्र नम्बर लिएको समयको आधारमा कार्ड छापिनेछ ।
तुरुन्तै राष्ट्रिय परिचयपत्र चाहिने भए सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र प्रिन्ट गर्न सकिने व्यवस्था गर्ने पनि विभागको भनाइ छ । ‘स्थानीय तह र जिल्ला प्रशासनको राष्ट्रिय परिचयपत्र शाखाबाट प्रिन्टका लागि अनुरोध गर्ने र सम्बन्धित व्यक्तिको मोबाइलमा ओटीपी कोड राखेर प्रिन्ट गर्न पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो, कट्टेलले भने, ‘यसले राष्ट्रिय परिचयपत्रको नम्बर पाइयो तर परिचयपत्र पाइएन भन्ने गुनासो हल हुन्छ ।’
सामाजिक सुरक्षा भत्ता र अन्य सेवामा राष्ट्रियपत्र अनिवार्य गर्दै लैजाँदा मान्छेमा कार्ड नै छैन र कार्ड नभई के हुन्छ भन्ने मनोविज्ञान देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको महानिर्देशक कट्टेल बताउँछन् ।
विभागले यसरी जिल्ला र पालिका तहमै राष्ट्रिय परिचयपत्रको विवरण हेर्न र प्रिन्ट गर्न मिल्ने एक पोर्टल तयार गरेको छ, २२ वटा जिल्लामा परीक्षणको काम पनि सकेको छ । दैनिक थप २–३ जिल्लामा परीक्षण भइरहेको छ । सबै जिल्लाका प्रणाली परीक्षणपछि यो व्यवस्था लागु हुनेछ ।
यसरी स्थानीय तह र जिल्ला प्रशासनले प्रिन्ट गरेर दिने परिचयपत्र विद्युतीय चिप्ससहितको हुने छैन । विभागले छाप्नेजस्तो आधुनिक नभएपनि यस्तो परिचयपत्रमा राष्ट्रिय परिचयपत्र नम्बरसहित व्यक्तिगत विवरणहरु हुनेछन् ।
विभागले भविष्यमा सोझै व्यक्तिले नै मोबाइलमा आउने ओटिपीसहित तोकिएको अथेन्टिकेसनमार्फत भेरिफाइ गरेर घरमै पनि कार्ड प्रिन्ट गर्न सक्ने व्यवस्था गर्ने तयारी गरेको छ । त्यसका लागि विभाग प्रणाली तयार गर्ने काममा लागेको छ ।
महानिर्देशक कटेल अब सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर भएका र नभएकाहरु छुट्टिने बताउँछन् । ‘जोसँगै परिचयपत्र छैन, उनीहरुको विवरण स्थानीय तहमा पठाएर परिचयपत्रका लागि विवरण संकलन गर्न लगाउने उहाँले भन्नुभयो ।
अब राष्ट्रिय परिचयपत्रका लागि भौतिक कार्ड नै चाहिने अवस्था भने छैन । डिजिटल रुपमै राष्ट्रिय परिचयत्र प्रयोगमा ल्याउन सकिने अवस्था रहेको भन्दै भविष्यमा सरकारले यसबारे उचित निर्णय लिने कट्टेल बताउँनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *