श्रावण ६
आरक्षण कोटाका बिषयमा बिबाद हुदा बंगलादेशमा कम्तीमा १ सय बढिको मृत्यु भएको छ । देशभर कर्फ्यु लागेको छ भने इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएका छन्
। बंगलादेशमा अध्ययनरत आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत शनिबारसम्ममा आठ सय नेपालीले हवाई र स्थलमार्ग हुँदै बंगलादेश छाडेको जनाएको हो । ति बिद्यार्थीहरुको सहजताका लागि परराष्ट्र मन्त्रालयको ‘हेल्प डेस्क’ स्थापना गरिएको नेपाली राजदूतावासले जनाएको छ । दुतावासका अनुसार बंगलादेशमा ३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत, तीमध्ये २४ सय मेडिकल साइन्स र बाँकी अन्य विषय पढ्न गएका हुन्
सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ ।
ढाका विमानस्थल र अन्य स्थल नाका हुँदै नेपाली विद्यार्थीको सुरक्षित यात्राका लागि ढाकास्थित नेपाली दूतावासले सहजीकरण गरिरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ । बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आइतबार नेपाल फर्काउन प्रबन्ध मिलाएको जानकारी दिनुभएको छ ।
बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन केही दिनयता हिंसात्मक बनेको हो । अहिलेसम्म कम्तीमा एक सय जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएका छन् । बीबीसीका अनुसार बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ ।आन्दोलन चर्किंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी हवाई र भारतीय स्थलमार्ग हुँदै फर्कन थालेका हुन् । यसअघि बंगलादेशमा आन्दोलन हिंसात्मक बन्दै गएपछि नेपाल, भारत र भुटानका साढे ६ सयभन्दा बढी नागरिक बोगुरा नाका हुँदै मेघालय प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । जसमा १ सय ५७ जना नेपाली रहेको त्यहाँको गृह विभागलाई उद्धृत गरिएको समाचारमा उल्लेख छ ।

