काठमाडौं, ४ जेठ
जनता समाजबादी पार्टी नेपालले सरकारबाट बाहिरिर्दै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिनु हुने भएकोे छ ।
वैशाख १३ गते समाजबादी पार्टी सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।
यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाउनुभएको थियो । चैत ६ गते दोस्रोपटक र पुस २६ गते पहिलोपटक विश्वासको मत पाउनुभएको थियो । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाउनुभएको थियो । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाउनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसक्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र प्राप्त भएको र सचिवालयले त्यस अनुसार तयारी थालिसकेको जानकारी दिए ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले विहीबार बेलुका संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका थिए ।

