८ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उहाले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राख्नुभएको हो । उहाले आफ्नै संगठनलाई उर्जाशील बनाउँदै नागरिकको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनस्स्थापित गर्ने पनि आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । यसअघि २०७९ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा धेरै क्षेत्रमा गठबन्धन गर्दा कांग्रेसका समर्थक र शुभेच्छुकले आफ्नो चुनाव चिह्नमा मतदान गर्न नपाएको महामन्त्री थापाले बताउनुभएको छ । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा र नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत हाल्न नपाएको उहाले बताउनुभयो । ‘यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै, अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्था सृजना भयो’ थापाले भन्नुभएको छ ।

