ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

धनुषा,फाल्गुन ६ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुहुने भएको छ । उहाँले तेस्रो पटक आइतबार विश्वासको मत लिन लाग्नुभएको हो । जनमत पार्टीले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन् । जसपाबाट मुख्यमन्त्री बनेका यादवले पद सम्हालेयता आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसक्नुभएको छ । उहाले आफ्नो एकवर्षे कार्यकालमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप छ । त्यही कारण अन्य दलले मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिइङ गर्दै आउनुभएको छ । मधेश प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरेको थियो । सरकार छाडेको जनमतले आफ्नो नेतृत्वमा सहमति नभए कांग्रेसलाई सघाउने तयारी गरेको जनमतका सांसदहरू बताउँछन् । माओवादी केन्द्रका सांसद पनि मुख्यमन्त्रीको कार्यशैलीसँग सहमत छैनन् । सत्ता गठबन्धनका सांसदले सरकारको नेतृत्व अन्य दलले पाउनुपर्ने र त्यो सम्भव नभए जसपाबाटै अन्यलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, केन्द्रबाट मुख्यमन्त्री यादवको सरकारलाई समर्थन गर्न निर्देशन आएको सत्तारूढ दलका सांसदहरू बताउँनुहुन्छ। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेशमा ६ वर्षदेखि जसपा नेतृत्वको सरकार रहेकाले परिवर्तन आवश्यक रहेको बताउँनुभयो । तर, तत्काल केन्द्रीय गठबन्धन अनुरूप मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति भएको उहाले बताउनुभयो । जनमतले छाडेका दुई मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वासको मत दिने सहमति भएको हो । माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको बताउनुभयो । ‘मन्त्रालय र सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कुनै छलफल भएको छैन,’ उहाले भन्नुभयो । मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १र१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *