असार ७ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ । महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्नुहुने छ। महाधिवेशनमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र पदाधिकारीमा महिलाको सहभागिता सुनिश्चित गर्ने विधान संशोधन प्रस्ताव छ । चितवनमा आयोजना हुने यस महाधिवेशनमा देशभरबाट ३ हजार ९१८ प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उदघाटन समारोह स्थललाई रवि र बालेनको तस्वीरसहित सजाइएको छ ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
‘रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ,’ प्रवक्ता झाले भने, ‘राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् ।’ १५१ सदस्यीय केन्द्रीय समिति, पदाधिकारीमा एक महिला अनिवार्य
बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहनेछन् ।
अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन । विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिवार्य महिला हुनेछन् । प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् ।
५१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्न पाउने
यस्तै, विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरेको छ ।
बृहत् राजनीतिक समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल जारी छ । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति सदस्य चयन हुनेछन् ।
पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।
झण्डै चार हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने
महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ ।
रास्वपाले पार्टी सदस्य संख्या पाँच लाख पुर्याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ ।
यस्तै, ६ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिए ।
सभापतिलाई ५१ र पदाधिकारीलाई ४१ हजार शुल्क
सोमबार भोलिदेखि शुरू हुने पहिलो महाधिवेशनका लागि निर्वाचन कार्यतालिका र उम्मेदवारी दर्ता शुल्क सार्वजनिक गरेको छ । महाधिवेशनमा सभापति पदका लागि ५१ हजार र अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ तोकिएको छ भने आगामी मंगलबार मतदान हुने कार्यक्रम छ ।

