२८ जेठ
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा भवन निर्माणका लागि विनियोजन गरिएको बजेटको ठूलो हिस्सा अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएपछि निर्माण कम्पनीले पेस गरेको करिब ८३ करोड रुपैयाँ बराबरको बिल भुक्तानी हुन सकेको छैन । जसले गर्दा ठुला पूर्वाधार आयोजनाको कार्यान्वयनमा चुनौती देखिने सम्भावना छ ।
चालु आर्थिक वर्ष (२०८२।०८३) मा भवन निर्माणका लागि विनियोजन गरिएको बजेटको ठुलो हिस्सा अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएपछि गत भदौदेखि निर्माण कम्पनीले उधारोमै काम गरिरहेको छ ।
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलका अनुसार हालसम्म निर्माण कम्पनीले पेस गरेको करिब ८३ करोड रुपैयाँ बराबरको बिल भुक्तानी हुन सकेको छैन ।
‘यो आर्थिक वर्षमा एक अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । तर करिब दुई अर्ब रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको पोख्रेलले बताउनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएको थियो । त्यसमध्ये ८ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षको बक्यौता भुक्तानीमा खर्च भएको थियो । बाँकी १५ करोड रुपैयाँले लामो समयसम्मको निर्माण खर्च धान्न नसकेको उहाँको भनाई छ ।
अस्पताल भवन निर्माणका लागि २०८० पुस २६ गते प्रदेश पूर्वाधार विकास प्राधिकरण र भारतीय निर्माण कम्पनी क्याप साइट–आशिष रेलिग्रेट भेन्चर तथा नेपाली कम्पनी आशिष रेलिगेसनबिच ७ अर्ब १५ करोड ९४ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजना २०८५ पुस २५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।
ढिलो शिलान्यास तथा बजेट अभावका चुनौतीबिच पनि निर्माण कम्पनीले २२ महिनामै ४५ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इन्जिनियर शोभत बन्जाडेले बताए ।
ठेक्का सम्झौताअनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म ४७ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । ‘लक्ष्यभन्दा बढी प्रगति हुने सम्भावना छ । भुक्तानीमा समस्या भए पनि निर्माण कार्य भने निरन्तर र तीव्र गतिमा भइरहेको छ,’ बन्जाडेले भने ।
हालसम्म निर्माण कम्पनीलाई कुल ठेक्का रकमको २७।३३ प्रतिशत अर्थात् २ अर्ब ९ करोड रुपैयाँ भुक्तानी गरिएको छ । यसबाहेक कम्पनीले पेस्कीबापत १ अर्ब २१ करोड रुपैयाँ प्राप्त गरिसकेको छ ।
निर्माण कार्यको प्रगति उत्साहजनक देखिए पनि समयमै बजेट व्यवस्थापन हुन नसके ठुला पूर्वाधार आयोजनाको कार्यान्वयनमा चुनौती देखिने बन्जाडेको भनाइ छ ।
अस्पताल निर्माणका लागि भारतीय कम्पनीसँग भएको ठेक्का सम्झौतामा प्रत्येक वर्ष निश्चित बजेट उपलब्ध गराउने उल्लेख गरे पनि हालसम्म कुनै पनि आर्थिक वर्षमा सम्झौताअनुसारको बजेट विनियोजन हुन सकेको छैन ।
आर्थिक वर्ष २०८०।०८१ मा सम्झौताअनुसार १ अर्ब २० करोड रुपैयाँ बजेट आवश्यक रहेकामा सरकारले ६० करोड रुपैयाँमात्र विनियोजन गरेको थियो । यस्तै, २०८१।०८२ मा आवश्यक २ अर्ब ५३ करोड रुपैयाँको सट्टा १ अर्ब ८० करोड रुपैयाँमात्र छुट्ट्याइयो । चालु आर्थिक वर्षमा कार्यतालिका अनुसार २ अर्ब २२ करोड रुपैयाँ आवश्यक रहेकामा १ अर्ब रुपैयाँमात्रै विनियोजन गरिएको छ ।
निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न काठमाडौँ विश्वविद्यालयको १६ सदस्यीय प्राविधिक टोलीले नियमित सुपरिवेक्षण गरिरहेको छ । भवनको डिजाइन तथा गुणस्तर अनुगमनको जिम्मेवारी काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ युनिकन्सर्न कन्सल्टेन्सीलाई दिइएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका प्रमुख इन्जिनियर छविराज पोखरेलले सम्झौताअनुसार बजेट विनियोजन नहुँदा भुक्तानीमा प्रत्येक वर्ष अन्तर रहने गरेको बताउनुभयो । सक्षम निर्माण कम्पनी छनोट भएका कारण अपेक्षाभन्दा कम बजेटमा पनि निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको उनको भनाइ छ ।
उहाका अनुसार हाल १० जना विशेष प्राविधिकसहित करिब २०० कामदार दैनिक रूपमा निर्माणस्थलमा खटिएका छन् ।

