२६ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेशका अधिवेशन पनि सुरु गर्दैछ । वडा, पालिका, जिल्लामा धमाधम अधिवेशन सम्पन्न ग।रसकेको छ । केही जिल्लाबाहेक प्रायः जिल्लामा नयाँ नेतृत्व चयन गरेको रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न थालेको हो ।
रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दैछ । बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडामा बिहान उद्घाटनको तयारी गरिएको हो ।
अधिवेशनको हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घान पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ ।
रास्वपाको विधान अनुसार प्रदेश अनुसार कार्यसमितिको आकार फरक–फरक हुने व्यवस्था गरिएको छ । बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ । सभापति, उपसभापति, महामन्त्री १।१ जना हुने व्यवस्था छ ।
सहमहामन्त्री दुई जना हुने र फरक–फरक लिंगको हुनुपर्ने विधानमा प्रावधान छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ ।
निर्वाचन हुने अवस्थामा नयाँ कार्यसमितिका लागि दुई चरण गर्नुपर्ने विधि बनाइएको छ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चुनाव गर्ने व्यवस्था छ । प्रदेश सदस्यमा चयन भएकाहरूबाट थप पदाधिकारी छनोट गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने हुन्छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भने असार ६ र ७ गते चितवनमा हुँदैछ ।

