जेठ २५
फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आउँदो बिहीवार रातिदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुदैछ । यो प्रतियोगितामा सहभागी टोली, खेल सङ्ख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन गरिएको छ । विश्वकपको इतिहासमै पहिलो पटक ४८ टोली सहभागी हुनेछन् । यसअघि सन् १९९८ देखि २०२२ सम्म ३२ टोलीले खेल्दै आएका थिए । टोली सङ्ख्या बढेसँगै विश्वका थप देशले विश्वकप खेल्ने अवसर पाउने भएका छन् । त्यस्तै प्रतियोगिता तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप पनि हुनेछ । खेलहरू अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरमा सञ्चालन हुनेछन् ।
नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली रहनेछन् । समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने आठ वटा तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्नेछन् । यसपटक पहिलो पटक राउन्ड अफ ३२ समावेश गरिएको छ । त्यसपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल हुनेछ । यसका कारण उपाधि जित्ने टोलीले अब सात होइन आठ खेल खेल्नुपर्नेछ ।
टोली सङ्ख्या बढेपछि प्रतियोगिताका खेल पनि उल्लेख्य रूपमा बढेका छन् । सन् २०२२ को कतार विश्वकपमा ६४ खेल भएका थिए भने यसपालि १ सय ४ खेल हुनेछन् जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो ।
यसैगरी प्रतियोगिताको अवधि पनि लम्बिएको छ । अघिल्ला विश्वकपभन्दा लामो समय चल्ने यो प्रतियोगिता झन्डै ३९ दिनसम्म सञ्चालन हुनेछ । फिफाले विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा धेरै देश सहभागी भएको र सबैभन्दा धेरै खेल भएको संस्करणका रूपमा प्रस्तुत गरेको छ ।
छैटौँ विश्वकप खेल्दै स्टार खेलाडी
सन् २०२६ को फिफा विश्वकप केवल नयाँ ढाँचा र ४८ टोलीका कारण मात्र विशेष छैन, केही खेलाडीले इतिहासकै दुर्लभ कीर्तिमान पनि बनाउँदैछन् । विश्व फुटबलका चर्चित तीन खेलाडीले लगातार छैटौँ पटक विश्वकप खेल्ने अवसर पाएका छन् ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
४१ वर्षीय रोनाल्डोले सन् २००६ को जर्मनी विश्वकपबाट यात्रा शुरू गरेका थिए । त्यसयता सन् २०१०, २०१४, २०१८, २०२२ र अब २०२६ गरी लगातार छैटौँ विश्वकप खेल्दै छन् । विश्वकप उपाधि भने उनको हातमा अझै परेको छैन, त्यसैले यो उनको अन्तिम ठूलो लक्ष्यका रूपमा हेरिएको छ ।
लियोनल मेसी (अर्जेन्टिना )
सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएका मेसी पनि छैटौँ पटक विश्वकप खेल्दै छन् । सन् २००६ मा पहिलो विश्वकप खेलेका उनले विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानसमेत बनाएका छन् । यो प्रतियोगिता उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।
गुइलेर्मो ओचोआ (मेक्सिको)
मेक्सिकोका अनुभवी गोलरक्षक ओचोआ पनि छैटौँ विश्वकप खेल्ने सूचीमा छन् । सन् २००६ देखि विश्वकप टोलीमा रहँदै आएका उनी विश्वकप इतिहासमा छैटौँ संस्करणमा सहभागी हुने पहिलो गोलकिपर बनेका छन् ।
नदेखिने चर्चित खेलाडीहरू
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको फिफा विश्वकप २०२६ मा विश्व फुटबलका धेरैजसो स्टार खेलाडी उपस्थित भए पनि केही चर्चित नाम भने प्रतियोगिताबाट बाहिरिएका छन् । केही खेलाडीको देश नै छनोट हुन नसक्दा, केही चोटका कारण र केही प्रशिक्षकको अन्तिम टोलीमा नपर्दा विश्वकप गुमाएका हुन् ।
सबैभन्दा ठूलो झड्का इटालीका समर्थकलाई लागेको छ । इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि गोलरक्षक जियानलुइजी डोनारुम्मा, मिडफिल्डर सान्द्रो टोनाली, डिफेन्डर अलेसान्द्रो बास्तोनी र फेडेरिको डिमार्को जस्ता स्टार खेलाडी विश्वकपमा देखिने छैनन् ।
अफ्रिकी फुटबलका चर्चित फरवार्ड भिक्टर ओसिम्हेन र अडेमोला लुकम्यान पनि नाइजेरिया छनोट हुन नसकेपछि विश्वकपबाट बाहिरिएका छन् । युरोपका अन्य चर्चित अनुपस्थित खेलाडीमा पोल्यान्डका रोबर्ट लेवान्डोस्की, हङ्गेरीका डोमिनिक सोबोस्लाई, जर्जियाका ख्भिचा क्वारात्स्खेलिया र स्लोभेनियाका बेन्जामिन सेस्को रहेका छन् ।
चोटका कारण विश्वकप गुमाउने चर्चित खेलाडीहरूको सूची पनि लामो छ । ब्राजिलका रोड्रिगो, एडर मिलिटाओ तथा युवा स्टार एस्तेभाओ घाइते भएपछि टोलीबाट बाहिरिएका छन् । नेदरल्यान्ड्सका जाभी सिमोन्स र माथाइस डे लिग्ट पनि चोटका कारण विश्वकप खेल्न नपाउने भएका छन् । यस्तै फ्रान्सका ह्युगो एकिटिके, जर्मनीका सर्ज ग्नाब्री र जापानका काओरु मितोमा समेत चोटका कारण प्रतियोगिताबाट टाढिएका छन् ।
इङ्ग्ल्यान्डका केही चर्चित खेलाडी पनि अन्तिम टोलीमा अटाउन सकेनन् । फिल फोडेन, कोल पाल्मर, ह्यारी म्याग्वायर र ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड प्रशिक्षकको छनोटमा पर्न सकेनन् । विश्वकप २०२६ मा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता दिग्गजहरू मैदानमा देखिने भए पनि केही चर्चित खेलाडीहरूको अनुपस्थितिले प्रतियोगितामा केही खल्लोपन महसुस हुने देखिन्छ ।

