वैशाख ३०
तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको आतंक नियन्त्रण गर्न जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कृषकको अन्नबाली र तरकारीमा ठूलो क्षति पुगेपछि सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न बिदा दिइएको हो।
नगरपालिकाले दीर्घकालीन समाधानका लागि संघीय सरकारसँग नीति तथा कार्यक्रम ल्याउन माग गर्दै, बाँदरलाई वन क्षेत्रमा रोक्न फलफूलका बिरुवा रोप्ने योजना अघि बढाएको छ।
कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न बिदा दिन लागिएको हो।
नगर प्रमुख अर्जुन माबोहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, रातदिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ।
नगर प्रमुख माबोहाङले बाँदरको समस्या सामान्य देखिए पनि यसले ग्रामीण किसानको जीविकामै गम्भीर असर पारेको बताउनुभयो। किसानले लगाएको मकै, आलु, कोदो, फलफूल र तरकारी बाँदरले नष्ट गरिरहेका छन्न । बाँदर धपाउन ठूलो जनशक्ति आवश्यक पर्ने भएकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरी सार्वजनिक बिदा घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले बाँदर नियन्त्रणका लागि अस्थायी संरचना निर्माण गरी हेरालो खटाउने व्यवस्था पनि गरेको छ। हाल वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंहथाप पुछार क्षेत्रमा बाँदर रुँगालो राखिएको नगरपालिकाले जनाएको छ। अहिले विभिन्न स्थानमा नगरपालिकाले बाँदर धपाउन चार जना रुँगालो परिचालन गरेको छ।

