सुशील बस्नेत
तुलसीपुर,२० चैत
दलित महिला संघ दाङले शुक्रबार तुलसीपुरमा प्रदेश सरकारसँग नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेश सभामा दलित समुदायका प्रदेशसभा सदस्यहरुसँग प्रदेश सरकारले बनाउने आगामी नीति र कार्यक्रम तथा बजेट निर्माणमा दलित समुदायको प्राथमिकता बिषयमा अन्तरक्रिया कार्यक्रम गराएको थियो ।
संबिधानमा ब्यबस्था भएको मौलिक हकको धारा २४ र धारा ४० मा जातिय बिभेद तथा छुवाछुत बिरुद्ध र दलित अधिकारसम्बन्धि ब्यबस्थालाई अव राज्यका हरेक निकायमा कार्यान्वयन गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्मा,पत्रकार गिरीराज नेपाली,खेमराज बिश्वकर्मा,रामबहादुर जिसी,दंगीशरण गाँउपालिका कार्यपालिका सदस्य सितरा नेपाली,यमुना परियार,रामबहादुर जिसी, निर्मल नेपाली लगायतले दलित अधिकार ऐन प्रदेश सभाबाट तत्काल पास गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, प्रदेश सभासदस्य यमबहादुर सार्की नेपालीले दलित सशक्तिकरण बिद्येयक दफावार छलफलको अबस्थामा रहेको जानकारी दिनुभयो । उहाँले अझै पनि दलित समुदायको सत्ता सम्ममा पहँुच हुन नसकेको बताउनुभयो ।
प्रदेश सभासदस्य द्धय सुशीला बादी र लोका बिश्वकर्माले दलित समुदायको हक हितको पक्षमा प्रदेश सभाको बैठकमा आवाज उठाई रहेको जानकारी दिनुभयो ।
दंगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरी, प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत,दलित अधिकारकर्मी जोगेन्द्र बिश्वकर्मा लगायतले अल्पसंख्य,सिमान्कृत र लोपउन्मुख समुदाय देखि दलित समुदायको पक्षमा नीति, कार्यक्रम र बजेट बनाउनुपर्ने र त्यहाँ सम्मको सहज पहुँच र सहभागिता हुनुपर्नेमा जोड दिुनभयो ।
लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा नहकुल के.सी.ले प्रदेश र स्थानीय तहमा दलितको अबस्था,लक्षित तथा सिमान्कृत वर्ग लक्षित मुख्य कार्यक्रम,लैङि उत्तरदायी लाभका आधारमा बिनियोजीत रकम, दलित समुदायको लागि योजना निर्माण प्रक्रियमा भएका समस्या, को को सँग गर्नुपर्ने सहकार्य, बजेट सुनिश्चित गर्ने तरिका लगायत समेटिएको प्रस्तुतिकरण गर्नुभएको थियो ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षतमा शुरु भएको कार्यक्रममा सचिव गंगा बिश्वकर्माले सञ्चालन र स्वागत मन्तब्य यमुना परियारले गर्नुभएको थियो ।

