आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

चैत २१

संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गर्दा खसेको अवशेषले ७ नेपाली नागरिक घाइते भएका छन्। घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम छ भने एक नेपाली गम्भीर घाइते भएका छन् । आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको छ।
आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् ।
आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ । एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ । सो घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् ।
घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन । अज्बान क्षेत्र अबुधाबीको अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ ।
संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ ।
घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन भई प्रभावित क्षेत्रमा सुरक्षात्मक व्यवस्था कडा पार्नुका साथै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच, आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको र केही समयका लागि सञ्चालन रोकिएको जनाइएको छ । उक्त घटनामा भने मानवीय क्षति भएको छैन । सरकारी अधिकारीहरुले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र अपुष्ट खबर नफैलाउन आग्रह गरेका छन् ।
यसअघि गत फागुनमा इरानको ड्रोन हमलामा परी यूएईमा सेक्युरिटी गार्डको रुपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *