फाल्गुन २५

फागुण २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको लागि भएको निर्वाचनमा दाङ जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा १० हजार ६ सय ९८ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै क्षेत्र नम्वर १ मा ४ हजार ५७ मत बदर भएको हो । त्यसपछि क्षेत्र नम्वर ३ मा ३ हजार ७ सय ७६ मत बदर भएको छ भने क्षेत्र नम्वर २ मा सबैभन्दा कम २ हजार ८ सय ६५ मत बदर भएको हो । जम्मा गणना भएको २ लाख ५१ हजार ३ सय ६८ मतमध्ये तीनवटै निर्वाचन क्षेत्रमा २ लाख ४० हजार ६ सय ७० मत सदर भएको छ ।
क्षेत्र नम्वर १ मा ८० हजार ४ सय ४६ गणना भएको मतमा ७६ हजार ३ सय ८९ मत सदर भएको र ४ हजार ५७ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कँवरले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्वर २ मा ८२ हजार तीन सय ५ मत गणना भएको, जसमा ७९ हजार ४ सय ४० मत सदर भएको छ । यो निर्वाचन क्षेत्रमा २ हजार ८ सय ६५ मत बदर भएको छ । यस्तै क्षेत्र नम्वर ३ मा ८८ हजार ६ सय १७ मत गणना भएको मध्ये ८४ हजार ८ सय ४१ मत सदर भएको छ । यहाँ ३ हजार ७ सय ७६ मत बदर भएको थियो ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर भएको मत तुलना गर्दा यसपालि बदर मतको संख्या र प्रतिशत घटेको पाइएको छ । उतिबेलाको निर्वाचनमा २ लाख ३३ हजार ३ सय २९ मत सदर भएको थियो भने १४ हजार ८ सय १० मत बदर भएको थियो । कुल बदर मत प्रतिशत ५ दशमलव ९७ प्रतिशत थियो । यसपालि भने बदर मत प्रतिशत घटेर ४ दशमलव २६ प्रतिशत रहेको हो । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मतदाताहरुले दोहोरो छाप लगाएको, खाली मतपत्र मतपेटिकामा राखेको, औंठा छाप लगाएको जस्ता मतपत्र भेटिएका थिए । ती मतपत्रलाई बदर मतपत्रको रुपमा राखिएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *