गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।
मतगणना अन्तिम चरणमा पुग्दा रास्वपाको १२४ सिट , नेपाली कांग्रेसले १७, नेकपा एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट जितेका छन् । श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेका छन् भने १ ठाउँमा स्वतन्त्र उम्मेदवार महाबिर पुन विजयी हुनुभएको छ ।
मतगणना भइरहेका क्षेत्रमध्ये गोरखा १ मा रास्वपाका सुदन गुरुङ, इलाम १ मा कांग्रेसका निश्कल राई र सङ्खुवासभा १ मा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिनुभएको छ । धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समावेश गरेको छैन ।
समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा
अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड कटाएकाले समानुपातिक सिट दावी गर्न पाउने भएको छ । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममा नै छ ।
खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ । राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।
निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ ।
करिब ७५ लाख ४० हजार मतगणना सम्पन्न भएकोमा रास्वपाले ३५ लाख ५७ हजार मत पाएको छ । जुन करिव साढे ४८ प्रतिशत हो । शुरुको भन्दा मत अनुपात केही घटेकाले उसले ५८ सिट पाउनेछ ।
कांग्रेसले १२ लाख ३३ हजार मत पाएको हो । २० सिट पाउने उसको मत साढे १६ प्रतिशत हो ।
एमालेले १० लाख ४३ हजार मत पाएको छ । करिव १४ प्रतिशत मत पाएको उसले १६ सिट पाउने देखिन्छ । नेपाली कम्यूनिष्ट पार्टीको ५ लाख ३५ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ ।
राप्रपाले २ लाख ५७ हजार मत पाएको छ । साढे ३ प्रतिशत भन्दा केही कम मत पाएको राप्रपाले ४ सिट पाउने देखिन्छ ।
श्रम संस्कृति पार्टीको २ लाख ३९ हजार मत छ । तीन प्रतिशतभन्दा कही बढी मत पाएको उसको ४ सिट पाउने देखिन्छ ।
खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ ।
राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।

