माघ २३
युनिसेफले एआई प्रविधिको दुरुपयोगबाट बालबालिकामाथि यौन हिंसा र दुर्व्यवहार बढेको निष्कर्ष निकालेको छ । उसले विश्वभरका सरकारलाई कडा कानुनी कदम चाल्न आह्वान गरेको छ। एआईमार्फत बनाइएका यौनजन्य सामग्रीले बालबालिकामा गहिरो मानसिक आघात र दीर्घकालीन असर पार्ने भएकाले तत्काल प्रभावकारी सुरक्षा र नियमन आवश्यक रहेको उल्लेख गरिएको छ।
सरकार, प्रविधि कम्पनी र अन्तर्राष्ट्रिय निकायबीच सहकार्य गर्दै पीडित बालबालिकालाई सहयोग र संरक्षण सुनिश्चित गर्न युनिसेफले जोड दिएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बालबालिकालाई यौनजन्य रूपमा चित्रण गर्ने सामग्रीको सिर्जना, स्वामित्व र वितरणलाई अपराध घोषणा गर्न संयुक्त राष्ट्रसंघीय बाल संगठन (युनिसेफ) ले विश्वभरका सरकारलाई आह्वान गरेको छ ।
बुधबार प्रकाशित ‘डिपफेक अब्युज इज अब्युज’ शीर्षकको वक्तव्यमा युनिसेफले जेनेरेटिभ एआईको तीव्र विकाससँगै बालबालिकामाथिको यौन हिंसा र दुर्व्यवहार बढेको उल्लेख गरेको छ । वक्तन्यमा त्यसबाट बालबालिकाको संरक्षण अधिकारमा नयाँ जोखिम पैदा भएको उल्लेख छ ।
एआईको दुरुपयोगबाट यस्ता सामग्री तीव्र फैलिरहेको र विद्यमान कानुनहरू नियन्त्रण गर्न असफल हुँदै गएको भन्दै युनिसेफले तत्काल कदम चाल्न आग्रह गरेको हो । युनिसेफ, इन्टरपोल र बाल अधिकार संस्था ‘इसीप्याट’ को अध्ययनमा यौनजन्य ‘डिपफेक’को सिकार भएका ११ देशका कम्तीमा १२ लाख बालबालिकाको अनुभव उल्लेख छ ।

