पौष २०
श्रीमानको कुटपिटबाट गर्भवती श्रीमतीको मृत्यु पछि अन्त्येष्टि रोकेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । दाङको शान्तिनगर गाउँपालिका–२ केराघारीकी १७ वर्षीया गर्भवती श्रीमती खिमी परियारलाई श्रीमान सुमन आले मगरले गत पुस १२ गते निर्घात कुटपिट गरि गम्भीर घाईते बनाउनुभएको थियो । खिमीको नेपालगञ्ज स्थीत एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकका श्रीमान सुमनलाई प्रहरीले पक्राउ गरेको हो।
कुटपिटबाट गम्भीर घाइते भएकी खिमिलाई पुस १३ गते नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उपचारकै क्रममा पुस १८ गते बिहान ११ बजे उनको मृत्यु भएको थियो ।
चार महिनाकी गर्भवती खिमिको शव परिवारले अन्त्येष्टि गर्न लैजाँदै गरेको सूचनापछि प्रहरीले प्रक्रिया रोकेर पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो। फरार रहेका सुमनलाई सोही रात तुलसीपुर–५ न्युरोडस्थित एक गेस्टहाउसबाट पक्राउ गरिएको हो।
मृतककी आमा राममाया दमाइले सुमनविरुद्ध किटानी जाहेरी दिएकी दिनुभएको छ। जिल्ला अदालतले सुमनलाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

