पुष ४ गते
पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिएको आरोप खेप्दै आएका केपी शर्मा ओली तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित हुनुभएको छ । बुधबार र बिहीबार (२ र ३ पुस) काठमाडौंमा भएको निर्वाचन प्रक्रियाबाट ओली अध्यक्षमा ह्याट्रिक गर्दै पुनः नेतृत्वमा सम्मालन अवसर प्राप्त गर्नुभएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितको जोडबलमा अध्यक्षको उम्मेदवारी दिएका ईश्वर पोखरेलले ५ सय ६४ मत पाउँदा ओलीले १६६३ प्रतिनिधिको मत प्राप्त गर्नुभयो ।
निर्वाचन आयोगका अनुसार, २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित रहे । अर्थात्, २२२७ जना प्रतिनिधि मात्रै मतदानमा सहभागी भए ।
सूची केलाउँदा ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४९ जना अर्थात् १६.६१ प्रतिशत सदस्यहरू दुवैतर्फ भेटिन्छन् ।
१२ जना अर्थात् ३.९८ प्रतिशत पोखरेल समूहको लिस्टमा मात्रै भेटिए भने २२७ जना जना सदस्यहरू ओली समूहले सार्वजनिक गरेको सूची अनुसार जितेका छन् । यो ७५.०८ प्रतिशत हो । निर्विरोध निर्वाचितको संख्या १३ छ । जसको प्रतिशत ४।३१ हुन आउँछ ।
जसमा प्रष्ट ४९ जना केन्द्रीय सदस्यहरूको नाम दुवैतर्फको लिस्टमा भेटिन्छ । १३ जना निर्विरोध निर्वाचित भएका छन् । बाँकी चाहिँ आ(आफ्नो समूहबाट जितेका हुन् ।
एमालेको यो सूचीले अब एमाले केन्द्रीय कमिटीमा ओलीको एकछत्र बनेको देखिन्छ । १९ सदस्यीय पदाधिकारीमा दुई जना (उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई)ले मात्र जित्नुभएको छ । अब एमालेको स्थायी कमिटी र पोलिटब्यूरो केन्द्रीय कमिटीबाटै बन्ने भएकाले ती सबै निकायमा ओली समूहकै नेताहरूको वर्चस्व रहने प्रष्ट छ ।
महाधिवेशनको यो परिणामले ओली एमालेभित्र कति शक्तिशाली जरा गाडेर बसेका रहेछन् भन्ने पनि देखाइदिएको छ ।
जेनजी आन्दोलनपछि एमाले नेतृत्वको औचित्य नरहेको भन्दै प्रश्न उठेपछि नयाँ नेतृत्व चयनका लागि एमालेले निर्धारित समयभन्दा १ वर्ष अगावै ११ औं महाधिवेशन गरेको थियो ।

