१७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागले विद्यार्थी आकर्षण गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । विभागका अनुसार २४ पुससम्म जुनसुकै विषयमा स्नातक गरेको विद्यार्थीले भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै मेरिट र कक्षा क्रियाशीलताका आधारमा ५ जना विद्यार्थीले छात्रवृत्ति पाउने, अर्को वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलन तथा राष्ट्रिय तथ्यांक कार्यालयसँग समझदारी भई जनगणनाका तथ्यांकहरुको आधारमा तयार हुँदै गरेका थिम्याटिक रिपोर्टहरुमा इन्टर्नसीपको व्यवस्था हुने पनि विभागले जनाएको छ । विभागमा कार्यरत प्राध्यापकहरुको पहलमा गरिने अध्ययन अनुसन्धानमा रिसर्च असिस्टेन्टको रुपमा काम गर्ने अवसर पाउने र जनसंख्या अध्ययन अनुसन्धान गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयरहरु सिक्ने अवसर पाउने जनाएको छ ।
बसाइँसराई, घट्दो जन्मदरका कारण आन्तरिक जनसंख्याको वितरण सन्तुलित हुन नसकेको अवस्थामा जनसंख्या अध्ययनमा राम्रो सम्भावना रहेको विभागको भनाइ छ । जनसंख्या अध्ययन गर्ने विद्यार्थीको भविष्य उज्वल भएपनि यसको महत्व तथा फाइदालाई वृहत बनाउन नसक्दा विद्यार्थीको आकर्षण नबढेको विभाग प्रमुख डा।योगेन्द्रबहादुर गुरुङ भनाई छ ।
आर्थिक, राजनीतिक, भौगोलिक, जनसांख्यिक हरेक दृष्टिकोणबाट समाज अध्ययन गर्नको लागि जनसंख्या अध्ययन जरुरी रहेको उहाको तर्क छ ।
हाल स्नातकोत्तर तहमा जम्मा पाँच जना विद्यार्थी अध्ययरत रहेको विभागले जनाएको छ । एमफिल र पीएचडीमा समेत गरी २२ जना अध्ययनरत छन् ।
२०४५ सालमा मानविकी ताथा सामाजिक शास्त्र संकाय अन्र्तगत खुलेको विभागले अहिलेसम्म स्नातकोत्तर तहमा दुई हजार ३०० जना भन्दा बढी, एमफिलमा १८२ जना र पीएचडीमा १९ जनशक्ति उत्पादन गरिसकेको छ ।
विभागका अनुसार जनसंख्या अध्ययन गर्दा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मानव प्रवृत्तिको विकास जान्न, जनसंख्या परिवर्तनको प्रक्रिया र त्यसका निर्धारकहरुबारे ज्ञान लिन, जनसंख्या र विकाससँग स्रोतहरु जोड्ने जनसंख्या अध्ययन गर्नुपर्छ ।
त्यतै गरी राष्ट्रिय र स्थानीय विकास योजनाको लागि जनगणना र तथ्याङ्क विश्लेषण गर्न, जनसंख्या र सामाजिक विज्ञान अनुसन्धानमा ध्वनि र वैज्ञानिक ज्ञान हासिल गर्न अध्ययन गर्न जरुरी रहेको विभागको तर्क छ ।
