कार्तिक २७
अव मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमा लाईनमा बस्न नपर्ने भएको छ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउँदा संकलित जैविक तथ्यांक प्रयोग गर्ने निर्णय गरेसँगै लाईनमा बस्नु नपर्ने बनाएको हो ।
यस निर्णयले राष्ट्रिय परिचयपत्र भएका नागरिकलाई मतदाता परिचयपत्रका लागि पुनः बायोमेट्रिक्स दिन निर्वाचन कार्यालय जानुपर्ने झन्झट हट्नेछ।
मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि प्रक्रिया सहज बनाउन आयोग र पञ्जीकरण विभागले आवश्यक कानुनी तथा प्राविधिक तयारी तीव्र पारेका छन्।
निर्वाचन आयोगले मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्यांक (बायोमेट्रिक्स) प्रयोग गर्ने भएको छ । मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पहिल्यै संकलित जैविक तथ्यांकलाई मतदाता नामावलीका लागि प्रयोग गर्ने निर्णय भएको छ,’ उनले भने । आयोग र विभागले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर यसलाई अगाडि बढाउने प्रेस संयोजक रावलले जानकारी दिए । राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई यसले सहज बनाउने उहाले बताउनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता परिचयपत्रका लागि पञ्जीकरण विभागमा रहेको जैविक ‘बायोमेट्रिक्स’ प्रयोग गर्न सकिने निर्णय आयोगले लिइसकेको जानकारी दिनुभयो । आयोगले बिहीबारबाटै उक्त प्रक्रिया सुरु गर्ने गरी तयारी थालेको छ । बुधबार रातभरिमा प्राविधिक तयारी र यसको परीक्षण पूरा गरिँदै छ ।
पछिल्लो निर्णयले राष्ट्रिय परिचयपत्र बनाएकाले मतदाता परिचयपत्रका लागि अनलाइन फारम भरेपछि फोटो खिच्न तथा ‘बायोमेट्रिक्स’ दिनलाई निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हट्नेछ । राष्ट्रिय परिचयपत्र बनाउने बेलामै नागरिकले आफ्नो व्यक्तिगत र जैविक विवरण बुझाएका हुन्छन् । सरकारी निकायले एक पटक ‘बायोमेट्रिक्स’ संकलन गरिसकेपछि त्यो विवरण अन्यत्र पनि प्रयोग गर्न सकिनेमा त्यसो नगरी दोहोरो झन्झट दिइएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।
मतदाता सूचीमा नाम दर्ता गराउने ३० कात्तिकको समयसीमा नजिकिँदै जाँदा नाम लेखाउनेको चाप देशैभरि बढेको छ ।

