ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

दाङ, कात्तिक २६

जेनजी आन्दोलनका नाममा अदालत र प्रहरी कार्यालयहरू तोडफोड गरेको आरोपमा दाङमा हालसम्म प्रहरीले १९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। घोराही क्षेत्रबाट १४ र तुलसीपुर क्षेत्रबाट ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो।
उच्च अदालत तुलसीपुर र तुलसीपुर बसपार्कस्थित अस्थायी प्रहरी पोस्टमा तोडफोड, चोरी र आगजनीको आरोपमा बुधबार ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
उच्च अदालत तुलसीपुरमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ राजापुरका २६ वर्षीय रूपेश नेपाली र सल्यानको बागचौर नगरपालिका–२ घर भई दाङको तुलसीपुर–९ बेलुवामा डेरा गरी बस्ने १८ वर्षीय सुनिल वली हुनुहुन्छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार तुलसीपुरको बसपार्कस्थित अस्थायी प्रहरी पोस्टमा ढुंगामुढा, तोडफोड र चोरी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका २० वर्षीय करण सुनार, सोही वडाका १८ वर्षीय मुकेश भण्डारी र तुलसीपुर–६ शान्तिनगर टोल बस्ने १८ वर्षीय ज्ञानेन्द्र गन्धर्व पक्राउ पर्नुभएको छ ।
पक्राउ परेकाहरुलाई पाँच दिन थुनामा राखी घटना अनुसन्धान गर्न जिल्ला अदालतले बुधबार आदेश दिएको इलाका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।
उहाँहरु विरूद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको खत्रीले बताउनुभयो।
दाङ जिल्ला अदालत र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड र आगजनी गरेको आरोपमा पनि थप पाँच जना पक्राउ परेका छन्।
जिल्ला अदालत तोडफोड र आगजनी गरेको भन्दै प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१ भम्के घर भई घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकमा डेरा गरी बस्ने २५ वर्षीय नविन नेपाली र अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले घर भई घोराही–१४ नयाँ बजारमा डेरा गरी बस्दै आएका ३७ वर्षीय कृष्ण पाण्डे पक्राउ पर्नुभएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड र आगजनी गरेको आरोपमा घोराही–१५ मिलनचोकका १८ वर्षीय हैदर अली, सोही वडाका ३० वर्षीय आकाश गिरी र घोराही–३ भानपुरका ४७ वर्षीय बसन्त अधिकारी पक्राउ पर्नुभएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार जिल्ला अदालतले सबैलाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
उहाँहरु विरूद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिनुभयो।
यसअघि कात्तिक २३ गते जिल्ला अदालत र ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। हालसम्म प्रहरीले तोडफोड, चोरी र आगजनीमा संलग्न आरोपमा १९ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।
घोराही–१५ का २४ वर्षीय सुनिल थापा मगर, २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो। त्यस्तै घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका ३४ वर्षीय शरद बस्नेत र सल्यानको क्षत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली पक्राउ पर्नुभएको थियो ।
दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार पक्राउपरेका ब्यक्तिहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड, लुटपाट, चोरी र आगजनी गरेका थिए।
त्यस्तै घोराही–१५ भानुचोकस्थित प्रहरी बिटमा ढुंगामुढा, तोडफोड तथा आगजनी गरेको आरोपमा घोराही–१३ का २५ वर्षीय सन्दीप घर्ती पनि पक्राउ पर्नुभएको थियो।
पक्राउ परेका सबैलाई हिरासतमा राखी अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *