कार्तिक २५
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिरामी भएको बहाना बनाएर सरकारी निवास छाडेर होटलमा एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रूपमा शपथ गराउनुभएको छ । यस घटनाले प्रदेशको संवैधानिक प्रक्रिया र राजनीतिक मर्यादामाथि गम्भीर प्रश्न उठाएको छ । जसका कारण भण्डारीलाई प्रदेश प्रमुखबाट बर्खास्त गरिएको छ।
मुख्यमन्त्री नियुक्ति र शपथलाई लिएर प्रदेशमा तनाव, प्रदर्शन र तोडफोडसमेत भएको छ भने सात दलले कानुनी बाटो अपनाउने निर्णय गरेका छन्।
बिरामी भएको र उपचारका लागि काठमाडौं हिँडेको भनेर सोमबार बिहान अँध्यारोमै मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी जनकपुरस्थित आफ्नो सरकारी निवासबाट निस्किनुभएको थियो । उहाले कामचलाउ मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) लाई आफू बिरामी परेको जानकारी दिनुभएको थियो ।
काठमाडौं हिँडेकी उहा बीपी राजमार्गमा पर्ने बर्दिबासको कालापानीस्थित एकान्त ठाउँमा रहेको पानस कटेज होटलमा रोकिनुभयो । त्यहाँ उहालाई पर्खिरहनुभएको थियो एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले । होटलभित्रै भण्डारीले यादवलाई मधेशको मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनुभयो । प्रदेश प्रमुखले होटलमै एमालेका लखन दास तत्मा, संघीय समाजवादीकी विमला अन्सारी र राप्रपाकी कञ्चन बिच्छालाई मन्त्रीका रूपमा शपथ गराउनुभयो । जसको कारणले प्रदेश प्रमुखका रूपमा उहा बर्खास्त हुनुभएको छ । प्रदेश प्रमुखले होटलमा मुख्यमन्त्रीलाई शपथ गराएको यो घटनाले नेपालको राजनीतिलाई नै विद्रूप बनाएको छ ।
पार्टीको आन्तरिक विवादका कारण जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले राजीनामा दिएपछि माओवादी, जसपा नेपाल र जनमतसहितका दलहरूको समर्थनमा सोनल मुख्यमन्त्री बन्नुभएको थियो । तर, गत शनिबार २५ दिनमै उहाको सरकार ढल्यो । विश्वासको मत नपाउने देखिएपछि सोनलले प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । मत विभाजनअघि माओवादीका दुई सांसद रहबर अन्सारी र माला कर्णले तटस्थ बस्ने भन्दै विद्रोह गरेपछि सोनल अल्पमतमा पर्नुभएको थियो ।
त्यसपछि मधेश प्रदेशमा राजनीतिक रिक्तता कायम थियो । सरकार गठनलाई लिएर दलहरूबीच विवाद बढ्दै आएको थियो । सोनललाई समर्थन गरेका दलहरू संविधानको धारा १६८(२) बमोजिम पुनः सरकार गठन आह्वान गरिनुपर्ने पक्षमा थिए । यसअघि एमालेसँग सहकार्यमा रहेको कांग्रेस पनि यही कित्तामा उभियो । आइतबार साँझ कांग्रेस, जसपा नेपाल, लोसपा, माओवादी, एकीकृत समाजवादी, जनमत र नागरिक उन्मुक्तिका सांसदले संयुक्त रूपमा प्रदेश प्रमुख भण्डारीलाई भेटेर त्यस्तो आग्रह पनि गरे । एमालेले भने संविधानको धारा १६८(२) को प्रयोग असफल भइसकेकाले धारा १६८(३) बमोजिम संसद्को सबैभन्दा ठूलो दललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखमाथि दबाब बढाएका थिए ।
दुवै पक्षले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए । त्यही बीचमा भण्डारीले बिरामी परेको बताउँदै बाहिर निस्किएर एमाले नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेर शपथग्रहण गराएकी हुन् । निवास छाड्नु अगावै भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गराउनुभएको थियो । तर, कांग्रेससहित ७ दलका नेता–कार्यकर्ता प्रदेश प्रमुख निवास अगाडि प्रदर्शन र धर्नामा बसेकाले यादवलाई नियुक्ति लिन र शपथ गर्न सम्भव नभएपछि उनी अँध्यारोमै बाहिरिएकी हुन् ।
भण्डारी उपचारका लागि काठमाडौं हिँड्नुअघि नै प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र शपथग्रहणको पत्र तयार पारिसकेको थियो ।
प्रदेश प्रमुख भण्डारी सात दल र एमाले दुवैतिरको दबाबमा पर्नुभएको थियो । सोनल पक्षधर दलका नेता–कार्यकर्ताले प्रदेशसभामा विश्वासको मत फेस गर्नुअघि नै राजीनामा गरेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको अर्को सरकार गठनका लागि आह्वान गर्न दबाब बढाएका थिए । एमालेले संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतले आफ्नो दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब दिएको थियो ।

