ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

ओलीको प्रतिनिधिसभा पुनर्स्थापनाको माग एजेण्डामा काग्रेस लाग्दै

२३ कात्तिक

नेकपा एमालेले चुनाव अस्वीकार गर्दै पुनर्स्थापनाको माग अघि सारेर अब सडक संघर्षमा समेत उत्रिने तयारी गरिरहेको छ । यता सरकारले चुनावी काम तीव्र रुपमा अघि बढाइरहेको छ । यही बेला कांग्रेसका निवर्तमान सांसदहरू पनि त्यो मुद्दा लिएर हिँड्न लागेका हुन् ।
प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको माग राखेर हस्ताक्षर अभियान थालेका छन् । शुरुमा निर्वाचनको पक्षमा उभिएको कांग्रेसभित्र पुनर्स्थापनाको मागसहितको हस्ताक्षर सुरु हुँदा त्यसले एमालेको मागलाई बल पुगेको छ ।
विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेकै अग्रसरता र पहलकदमीमा हस्ताक्षर अभियान सुरू भएको हो । घिमिरेका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालत जाने प्रयोजनकै निम्ति हस्ताक्षर अभियान थालिएको हो ।
‘सिग्नेचर हामीले पार्टीमा बुझाउँछौं,’ घिमिरेले भन्नुभयो, ‘यो निर्णय चाहिँ पार्टीले नै एक भएर गरोस् भन्ने हाम्रो आग्रह हो ।’
विघटित प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठूलो शक्ति हो । ८८ सिट रहेको कांग्रेसले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाबारे कुनै संस्थागत निर्णय गरेको छैन । संस्थागत निर्णय बिनै कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर अभियान थालिएको छ । निवर्तमान प्रमुख सचेतक घिमिरे पनि प्रतिनिधि सभा पुनर्स्थापनाबारे पार्टीको संस्थागत निर्णय नभएको जानकारी दिनुभयो ।
‘नेपाली कांग्रेसले संसद् पुनर्स्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारको गठन र यो विघटन चाहिँ असंवैधानिक र अलोकतान्त्रिक भनेको छ,’ उहाले भन्नुभयो ।
संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका निवर्तमान सांसदहरूले पनि थाले हस्ताक्षर अभियान

विघटन असंवैधानिक भन्ने निष्कर्ष निकालिएको हुँदा प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्नु स्वाभाविक हुने उनको तर्क छ ।
‘त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक हो भने यसका विरुद्धमा न्यायालयको ढोका ढकढक्याउन पार्टी किन नजाने भनेर हस्ताक्षर अभियान सुरुवात गरिएको हो । यद्यपि पुनर्स्थापनाको एजेण्डामा कांग्रेसभित्र मतैक्य हुने सम्भावना कमजोर छ । किनकी संस्थापन इतरका नेताहरूले चुनावलाई निकास भनिरहेका छन् भने विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तनको अभियान चलाइरहेका छन् ।
तर विघटित प्रतिनिधि सभाको दोस्रो दल नेकपा एमालेमा भने संस्थापन इतर नेताहरूको विमतिका बाबजुद पुनर्स्थापनाको माग सहित सडक आन्दोलनमै जाने निर्णय भइसकेको छ ।
पार्टी बैठक बस्नुअघि नै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग एमालेले अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएको थियो ।
त्यही एजेण्डालाई असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकबाट ओलीले अनुमोदन गराउनुभयो । यसपछि सचिवालय बैठकबाट प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सडक आन्दोलनको कार्यक्रम तय गरिसकेको एमाले यतिबेला वडा तहबाटै जनप्रदर्शन उठाउने प्रयत्नमा छ ।
र, ओलीको विश्वास बमोजिम कांग्रेस पनि प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई साथ दिनेतिर बढेको छ । ‘हाम्रो पार्टी अध्यक्षले कांग्रेसले पनि यो मुद्दामा साथ दिने विश्वास गर्दै आउनु भएको हो, र कांग्रेसले हस्ताक्षर अभियान थालिसक्यो,’ ओली निकट स्रोत बताएको छ ।
एमालेका निवर्तमान सांसदहरूको पनि हस्ताक्षर अभियान चलिरहेको छ । एमाले संसदीय दलको कार्यालयका कर्मचारीहरूले आफ्नो निर्वाचन क्षेत्र पुगेका सांसदहरू बोलाएर हस्ताक्षर गराइरहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *