२७ कात्तिक
निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित सामाग्री उत्पादन, प्रयोग, बिक्री वितरण गर्न नपाइने उल्लेख छ। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार पारिएको आचारसंहिताको मस्यौदामा आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता बनाएको र सरोकारवालाको सुझाव लिने जनाएको छ।
उक्त मस्यौदा सुझाव र छलफलका लागि आयोगले दलहरू लगायत सरोकारवालालाई समेत पठाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचार संहितामा सरोकारवालासँग सुझाव मागिएको र ती सुझावलाई समेत समेटेर मस्यौदालाई अन्तिम रूप दिइने जानकारी दिनुभयो ।
‘सरोकारवालासँग सुझाव मागिएको छ, सुझावहरू प्राप्त भएपछि आचार संहितालाई अन्तिम रूप दिइने छ’, भण्डारीको भनाइ छ ।
१० परिच्छेद र ५५ बुँदे आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज,भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता बनाएको हो । प्रस्तावित आचारसंहिता आयोगले तोकेको मितिदेखि आयोगले तोकेको क्षेत्रमा लागू हुने उल्लेख छ ।
परिच्छेद २ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा सरकारी वा अर्ध सरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्था, परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।
सरकारी वा अर्ध सरकारी सार्वजनिक संस्था,विश्वविद्यालय, विद्यालय र महाविद्यालय क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने पनि आचार संहितामा समेटिएको छ । साथै सरकारी र संवैधानिक निकाय तथा त्यसका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नहुने आचार संहिताको मस्यौदामा प्रस्ताव गरिएको छ ।
त्यस्तै राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरणका बारेमा समेत उल्लेख गरिएको छ । त्यसअन्तर्गत राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख छ ।
‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने,जुलुस, आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबीस घण्टा अगावै जानकारी गराउनु पर्ने’,मस्यौदामा उल्लेख छ । राजनीतिक दल, उम्मेदवार वा भात्रृ संस्थाले निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा २ वटा दुई पाङग्रे वा तीनपाङ्ग्रे वा चार पाङग्रे सवारी साधन प्रयोग गर्न सक्नेछन् । त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चार वटासम्म घोडा प्रयोग गर्न सक्नेछन् । त्यस्तै सञ्चारमाध्यम प्रयोगको पालना गर्नुपर्ने आचारबारे पनि आयोगले खुलाएको छ । जसमा कुनै राजनीतिक दलले निर्वाचन प्रचार प्रसार गर्दा २४ घण्टामा चार पटक टेलिभिजन वा रेडियोमा एक पटकमा एक मिनेटमात्र गर्न पाउने छन् । तर यो मस्यौदा सुझाव अनुसार परिमार्जन हुनसक्ने भएकाले यसैलाई अन्तिम मान्न नहुने आयोगले जनाएको छ ।

