ब्रेकिङ न्युज
Mon. Apr 20th, 2026

अवको निकासका लागि जेन्जी र नेपाली सेना बिच औपचारिक वार्ता आज हुदै

भदौ २५

जेनजी युवाको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ । नेपाली सेनाको समन्वयमा सैनिक मुख्यालय जंगीअड्डामा मध्यराति जेनजी प्रतिनिधिहरुसँग छलफल हुन लागेको हो । नेपाली सेनाको परमाधिपतिका रुपमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाउनुभएको थियो ।
स्रोतका अनुसार, विभिन्न समूहमा रहेका जेनजी प्रतिनिधिले राति प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेर आफ्ना कुराहरु राखेका छन् । एक जेनजी अभियन्ताले समेत आफूहरु जंगीअड्डा जान लागेको र आफ्ना विषयहरु राख्ने बताएका छन् । ‘हामीलाई जंगीअड्डाबाट आउनु भन्ने कुरा आएपछि जाँदैछौं, त्यसक्रममा नेपाली सेनाका कुराहरु पनि सुन्छौं,’ उहाले भन्नुभयो ।
राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई संवादमा आउन आह्वान गरेको थियो । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख थियो ।
अहिले हुन लागेको छलफलमा को को उपस्थित हुन्छन् भन्ने सार्वजनिक भइसकेको छैन । ‘बुधबार राष्ट्रपतिको उपस्थितिमा निर्णायक संवाद हुने भएकाले पनि अहिले कोही छुटे पनि क्रमशः सबै समूहलाई समेट्ने गरी कुराकानी हुन्छ,’ स्रोतले बताएको छ ।
यसपछि नेपाली सेनाले समेत विज्ञप्ति जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो । सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति समेत सेनाको समेत सुझावलाई मध्यनजर गर्दै आएको थियो । सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रपतिले अगुवाइ लिनु ठिक हुने निष्कर्ष निकालेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो ।
भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।
सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए । पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी गरेका छन् । आन्दोलनमा उत्रिएका जेन्जी समुहले राज्यका तिन वटा निकाय कार्यपालिका,ब्यबस्थापीका र न्यायापालिका तोडफोड र आगजनी गरेका छन् ।
तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो ।
प्रधानसेनापति सिग्देलले समेत भिडियो सन्देश जारी गर्दै अहिलेको परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन आग्रह गर्नभएको छ ।
यसैबिच, राति ९ बजेसम्म तोडफोड र आगजनीका घटना साम्य नभएपछि १० बजेदेखि सेना स्थितिलाई नियन्त्रणमा लिन सडकमा उत्रिएको थियो । सेनाले संभाबित संबेदनशील क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिई सकेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *