दाङ,भदौ १
दाङमा आगामी भदौ २ देखि ४ गतेसम्म १० वटै स्थानीय तहमा ९५ खोप केन्द्रमार्फत् १२ हजारजनालाई खोप दिन लागिएको छ ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङका अनुसार भदौको २ देखि ४ गतेसम्म सबै पालिकामा तोकिएको खोप केन्द्रमा खोपको व्यवस्था गरिएको छ । उहाँले यो रोगको निश्चित औषधि उपचार नभएकोले कोभिड–१९ विरुद्धको खोप लगाउनु नै यो रोगबाट सुरक्षित हुने एक मात्र उत्तम उपाय भएको बताउनुभयो ।
कोभिड–१९ विरूद्धको खोप प्रयोग गर्ने सम्बन्धमा विश्व स्वास्थ्य संगठनको पछिल्लो सिफारिस र सोबारे राष्ट्रिय खोप सल्लाहकार समितिले गरेको सिफारिसका आधारमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ भाद्र १७ गतेको निर्णयानुसार कोभिड–१९ विरुद्धको खोप सेवा नयाँ खोप तालिकाबमोजिम प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनु्भयो ।स्वास्थ्य कार्यालय दाङका खोप फोकलपर्सन भानुज्योति ओलीका अनुसार घोराही उपमहानगरपालीकाका–१५ खोप केन्द्रमार्फत् दुई हजार चारजना, तुलसीपुर उपमहानगरपालीकाका २५ खोप केन्द्रबाट पाँच हजार चारजना तथा लमही नगरपालिकाका आठ खोप केन्द्रबाट नौ सय ६० लाई खोप दिन लागिएको छ ।
त्यसैगरी राप्ती गाउँपालिकाका नौ खोप केन्द्रबाट एक हजार २० जना र गढवा गाउँपालिकाका नौ खोप केन्द्रबाट पनि एक हजार २० जनालाई खोप दिन लागिएको छ । राजपुर गाउँपालीकाका चार खोप केन्द्रबाट दुई सय चार, बंगलाचुली गाउँपालिकाका आठ खोप केन्द्रबाट तीन सय, बबई गाउँपालिकाका चार खोप केन्द्रबाट दुई सय ९४ जना, शान्तिनगर गाउँपालिकाका पाँच खोप केन्द्रबाट पाँच सय र दंगीशरण गाउँपालिकाका सात खोप केन्द्रबाट छ सय ९६ जनालाई खोप दिन लागिएको छ ।
रोगप्रतिरोध क्षमता कम भएका १२ वर्ष वा सो भन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई पहिला कोभिड–१९ विरुद्धको खोप नलिएको भएमा दुई मात्रा दिने (दुई मात्रा बीचको फरक कम्तिमा २८ दिन) पहिला कोभिड–१९ विरुद्धको खोप कम्तिमा एक मात्रा लिएको भएमा पहिला खोप लिएको कम्तिमा १२ महिनापछि थप एक मात्रा दिने, स्वास्थ्यकर्मी र विरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति पहिला कोभिड–१९ विरुद्धको खोप नलिएको भएमा एक मात्रा दिने तथा पहिला कोभिड–१९ विरुद्धको खोप कम्तिमा एक मात्रा लिएको भएमा पहिला खोप लिएको कम्तिमा १२ महिनापछि थप एक मात्रा दिने जानकारी गराइयो ।
साथै गर्भवती महिलालाई हरेक गर्भमा एक मात्रा दिने (पहिलो त्रैमासिकपछि), १२ वर्ष वा सो भन्दा माथिको उमेरका अन्य व्यक्तिलाई पहिला कोभिड–१९ विरुद्धको खोप नलिएको भएमा एक मात्रा दिने तथा पहिला कोभिड–१९ विरुद्धको खोप कम्तिमा एक मात्रा लिएको भएमा पहिला खोप लिएको कम्तिमा १२ महिनापछि थप एक मात्रा दिने जानकारी दिइयो । क्यान्सर भएको अवस्था, अंग प्रत्यारोपण गरेको अवस्था, रोग प्रतिरोध क्षमता कम गराउने औषधि सेवन गरिरहेको अवस्था र एच.आई.भी. संक्रमितको उपचार गर्ने ब्यक्ति जसमा अवसरवादी रोगको संक्रमण भएको अवस्था तथा तोकिएको भन्दा कम उमेरको व्यक्तिलाई रोगप्रतिरोध क्षमता कम भएको अवस्था मानिएको पनि जानकारी दिइयो । यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिलाई पनि खोप नदिइने छैन।

