२७ साउन
नेपाली कांग्रेसको सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशक समितिका पदाधिकारीहरूले निर्देशिकामा व्यापक त्रुटि रहेको भन्दै परिमार्जनको माग गरेका छन्।
कांग्रेसले निर्देशिका परिमार्जनका लागि मंगलबारसम्मको समय मागेको छ, भने महाधिवेशन सम्पन्न गर्ने कार्यादेशको पत्र दिने तयारी थियो।
सोमबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको छलफलमा सात भ्रातृसंस्थाका महाधिवेशन निर्देशन समितिका पदाधिकारीहरूले असन्तुष्टि जनाएका हुन् ।
महामन्त्री शर्माले ‘भातृसंस्थाहरूको महाधिवेशनका लागि निर्देशक समितिहरूको कार्यसम्पादन निर्देशिका’ पेस गरेर छलफलको सुरुवात गर्नुभएको थियो ।
कांग्रेसका सात भ्रातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल थारू संघ र नेपाल किसान महासंघले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन गर्न सकेका छैनन् । ती भ्रातृसंस्थाको महाधिवेशन गर्न कांग्रेसले महाधिवेशन निर्देशन समिति बनाएको छ ।
निर्देशन समिति संयोजकहरूमा तरुण दल सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघ सहमहामन्त्री किशोर सिंह राठोर, महिला संघ प्रवक्ता डा.प्रकाशशरण महत, नेपाल दलित संघ सहमहामन्त्री जीवन परियार, नेपाल किसान महासंघ केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाल थारू संघ केन्द्रीय सदस्य उदयशमशेर राणा हुनुुहुन्छ । सोमबारको छलफलमा यी सबैसहित तदर्थ समितिका अध्यक्षहरूसमेत सहभागी हुनुहुन्थ्यो ।
छलफलमा भाग लिँदै तरुण दलकी संयोजक रहेकी महामन्त्री उपाध्यायले निर्देशिकामा व्यापक त्रुटि रहेको बताउनुभयो । ‘निर्देशिकामा व्यापक त्रुटि छ । यही निर्देशिका पास गरेर महाधिवेशनमा होमिने हो भने कुनै पनि भ्रातृसंस्थाको महाधिवेशन हुन सक्दैन,’ उपाध्यायले छलफलमा भनुभयो । ‘परिमार्जन गरेर महाधिवेशन गर्दै नेतृत्व हस्तान्तरण गर्ने तरिकाले बनाउनुपर्छ ।’
छलफलमा सहभागी दलित संघ महाधिवेशन निर्देशन समिति संयोजक तथा पार्टी महामन्त्री परियार, नेपाल लोकतान्त्रिक खेलकुद संघ संयोजक मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, मीन विश्वकर्मा, पुष्पा भुसाल र सरिता प्रसाईंले आपत्ति जनाउँदै परिवर्तन गर्नुपर्ने माग गर्नुभयो । सबैले निर्देशिकामा असन्तुष्टि जनाएपछि परिमार्जनका लागि मंगलबार मध्यान्ह १२ बजेसम्मको समय पार्टीका तर्फबाट महामन्त्रीहरूले माग्नुभएको थियो ।

