श्रावण १
जिल्ला प्रहरी कार्यालय दाङमा एक वर्षमा एक हजार एक सय ७५ उजुरी दर्ता भएका छन् । तुलनात्मकरुपले आर्थिक वर्ष २०८१÷८२ मा उजुरी घटेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहका अनुसार दर्ता भएका कुल उजुरीमध्ये सात सय ४८ उजुरी फछ्र्यौट भएका र चार सय २७ उजुरीमा कारवाही प्रक्रिया जारी रहेको उल्लेख छ । त्यसअघि आर्थिक वर्ष २०७९÷८० मा एक हजार दुई सय एक उजुरी दर्ता भएकोमा एक हजार एक सय ९५ उजुरी फछ्र्यौट भएको र छवटा मात्रै बाँकी रहेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०८०÷८१ मा दर्ता भएका एक हजार दुई सय ७६ उजुरीमध्ये एक हजार ९३ फछ्र्यौट गरिएको र एक सय ८३ उजुरी बाँकी रहेका थिए । तुलनात्मकरुपमा पछिल्लो आर्थिक वर्षमा उजुरी घटे पनि फछ्र्यौट हुन नसकेको संख्या भने धेरै छ ।
यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा दुई सय नौजनाले आत्महत्या गरेको पाइएको छ । प्रहरी तथ्यांकअनुसार झुण्डिएर एक सय ६४, विष सेवन गरेर ४२, हामफालेर एक र औजार प्रयोग गरेर दुई जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०८०÷८१ मा भने एक सय ९९ जनाले आत्महत्या गरेका थिए । जसमा झुण्डिएर एक सय ५६ र विष सेवन गरेर ४३ जनाले आत्महत्या गरेको प्रहरी प्रवक्तासमेत रहनुभएका डिएसपी शाहले जानकारी दिनुभयो । त्यस्तै आर्थिक वर्ष २०८१÷८२ मा एक सय छवटा लागूपदार्थसम्बन्धी घटना भए भने अघिल्लो वर्ष ९६ वटा घटना भएका थिए । यस वर्ष प्रहरीलाई जुवामा सफलता मिलेको छ । आर्थिक वर्ष २०८०÷८१ मा दुईस्थानबाट २२ जना पक्राउ गरी दुई लाख ८२ हजार दुई सय ७० रुपैयाँ बरामद गरेको दाङ प्रहरीले आर्थिक वर्ष २०८१÷८२ मा २२ स्थानबाट एक सय ७८ जना पक्राउ गरी २० लाख चार सय ४५ रुपैयाँ बरामद गर्न सफल भएको छ ।
यसैगरी दाङ प्रहरीमा आर्थिक वर्ष २०८१÷८२ मा दर्ता भएका दुई सय ३१ घरेलु हिंसाका उजुरीमध्ये दुई सय तीन उजुरीमा मिलापत्र गराइएको छ । त्यसअघि आव ०८०÷८१ मा एक सय ३९ उजुरी परेकोमा एक सय १७ मा मिलापत्र गरिएको थियो । यस्तै आर्थिक वर्ष २०८१÷८२ मा दाङमा आठ सय ४३ मानिस हराएको भन्दै प्रहरीमा निवेदन परेको थियो । तीमध्ये सात सय ८५ जना फेला परेको प्रहरीले जनाएको छ । त्यसअघि आव २०८०÷८१ मा सात सय ६३ मानिस हराएकोमा सात सय ५५ फेला परेका थिए । प्रहरीका अनुसार कतिपय मानिस हराउँदा निवेदन लिएर आउने तर भेटिदा प्रहरीमा जानकारी नदिएका कारण पनि नभेटिएको तथ्यांक देखिने गरेको हो । दाङ प्रहरीले आव ०८१÷८२ मा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा ओसारपसार गरेको भन्दै एक सय छवटा टेक्टर, तीनवटा टिप्पर र दुईवटा जेसिवी नियन्त्रणमा लिएर २९ लाख ९० हजार तीन सय ८३ रुपैयाँ जरिवाना तिराएको छ । आव ०८०÷८१ मा एक सय २३ टेक्टर नियन्त्रणमा लिई ३७ लाख ९४ हजार ५८ रुपैयाँ जरिवाना तिराएको थियो । यस्तै आव ०८१÷८२ मा अवैधरुपमा ओसारपसार गरिरहेको दुई सय ९५ क्यूफिट काठ बरामद गरी दुई लाख ९८ हजार एक सय ९७ रुपैयाँ राजश्व संकलन गरेको छ भने अघिल्लो वर्ष ०८०÷८१ मा तीन सय ५० क्यूफिट काठ बरामद गरी तीन लाख २१ हजार सात सय ३९ रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै दाङ प्रहरीले आर्थिक वर्ष २०८१÷८२ मा पाँच सय ७५ जनालाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सघाएको छ ।

