आषाढ ३०

लुम्बिनी प्रदेशभरमा रहेका सहकारीमा ३८ अर्ब रुपैयाँ बचत रहेको छ । लुम्बिनी प्रदेश सरकारले सहकारी गतिविधिलाई विश्वसनीय एवं पारदर्शी बनाउनुका साथै एकीकृत तथ्यांकका लागि अनलाइन प्रणालीमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (सिओपीओएमआइएस) को प्रयोग गर्दै साढे ३७ अर्बको कर्जा प्रवाह भएको देखाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा लुम्बिनी प्रदेशमा रहेका सहकारीहरूमा कुल ३८ अर्ब सात करोड दुई लाख बचत, पाँच अर्ब ४५ करोड ११ लाख शेयर लगानी रहेकोमा ३७ अर्ब ५५ करोड १६ लाख कर्जा प्रवाह भएको छ ।
लुम्बिनी प्रदेशमा रहेका कुल तीन लाख ८६ हजार १० सहकारी सेयर सदस्यहरूमध्ये महिला एक लाख ६१ हजार एक सय ६१ रहेका छन् । जुन कुल सदस्यको ४१ दशमलव ७५ प्रतिशत हुन आउँछ भने पुरुष दुई लाख २४ हजार पाँच सय ८९ अर्थात ५८ दशमलव २५ प्रतिशत सेयर सदस्यहरू रहेका छन् । लुम्बिनी प्रदेश सरकारको नियमनको क्षेत्राधिकारभित्र २०८१ वैशाख मसान्तसम्म जम्मा आठ सय ४८ सहकारी संस्था दर्ता रहेका छन् । यसमध्ये बचत तथा ऋण सहकारी दुई सय ७५ वटा, बहुउद्देश्यीय सहकारी दुई सय ५९, कृषि सहकारी एक सय ४९ गरी जम्मा आठ सय २१ वटा सहकारी सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा दर्ता भएका छन् भने २७ वटा सहकारी संस्थाहरू आवद्ध हुन बाँकी रहेको जनाइएको छ ।
सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशको रेकर्डमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुग्ध सहकारी ३२, उपभोक्ता सहकारी १४, सञ्चार सहकारी १२, अदुवा सहकारी आठ, साना किसान कृषि सहकारी सात, कफी सहकारी छ, मौरी पालन सहकारी पाँच, तरकारी तथा फलफूल सहकारी र विद्युत सहकारी चार÷चार, पशुपालन सहकारी र श्रमिक सहकारी दुई÷दुई तथा एउटा जडिबुटी सहकारी र अन्य सहकारी ४१ वटा दर्ता भएका छन् ।
२०८२ वैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा सबैभन्दा बढी दुई सय ४१ वटा सहकारी संघसंस्थाहरू रूपन्देही जिल्लामा रहेका छन् । त्यसपछि बाँके र दाङ जिल्लामा क्रमशः एक सय २४ र एक सय १७ वटा सहकारी संघ संस्थाहरू रहेका छन् । रूकुम पूर्वमा सबैभन्दा कम छ वटा मात्र सहकारी रहेको सहकारी दर्ता अधिकारीको कार्यालय, लुम्बिनी प्रदेशले जनाएको छ । कार्यालयका अनुसार नवलपरासीमा ६८, पाल्पामा ६४, प्युठानमा ५४, बर्दियामा ५०, गुल्मीमा ३५, रोल्पामा ३४, अर्घाखाँचीमा ३० र कपिलवस्तुमा २५ सहकारी संस्था रहेका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *