असार ८
आज आईतबार बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशीमा हल्का वर्षा भइरहेको बेला मधेस र बागमती प्रदेशमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । गएराति कम वर्षा भएको तराई क्षेत्रमा आज ठूलो पानी पर्नसक्ने सम्भावना छ ।
गएराति दाङ,खोटाङ, चितवन, म्याग्दी र सिन्धुपाल्चोकमा ठूलो पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले खोटाङ, दोलखा, चितवन जिल्ला आसपास भएर बग्ने स–साना खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । दोलखाको खिम्ती खोला, चितवनको काली खोला र यस्तै अन्य साना नदीहरूमा बाढी र पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।
जाममा परेका १५ सय बढि गाडी दाउन्नेबाट हटाइँदै
पाँच दिनदेखि अवरुद्ध दाउन्ने सडकमा ग्राभेल राखेर बाटो सहज बनाउन त्यहाँ रोकिएका करिब १५ सय गाडी फिर्ता पठाउन सुरु भएको छ ।
महेन्द्र राजमार्गअन्तर्गत दुम्कीवास र बर्दघाटको बिचमा रहेको दाउन्नेको १४ किलोमिटर क्षेत्रमा ५ दिनदेखि अलपत्र परेका गाडी त्यहाँबाट फिर्ता पठाउन थालिएको छ । पूर्व(पश्चिम हिँडेका रित्ता ट्रक दाउन्ने आसपासमा थुप्रिएका छन् । त्यहाँ यात्रुबहाक बस र साना गाडी छैनन् ।
पूर्वी नवलपरासीका एसपी यादव ढकालले दाउन्नेको सडक मर्मत गर्न राजमार्ग खाली गराउन दुम्कीवासदेखि होंसी सिमेन्ट कारखाना चोकसम्म जाममा फसेका १५ सय गाडी फर्काइरहेको जानकारी दिनुभयो । शनिबार साँझसम्म ७ सय गाडी दाउन्नेबाट हटाएको र आइतबारसम्म सबै गाडी ट्रक हटाइसक्ने ढकालले जानकारी दिए । दाउन्नेमा खण्डका गाडी हटाउन दर्जनौं प्रहरी खटाइएको छ ।
आज आइतबारसम्म दाउन्ने बजारदेखि होंसी सिमेन्टको चोकसम्म जाममा परेका सबै गाडी हटाएर ग्राभेल बोक्ने टिपर दौडाउन बाटो खाली गराउने ध्याउन्नमा प्रहरी खटेको छ ।
गाडी जताबाट गएका हुन त्यतै फकाइएको छ । बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको गाडी बर्दघाटतिर नै फर्काइएको छ । र दुम्कीवासबाट बर्दघाटतर्फ जाँदा फसेका गाडी अरुणखोला कावासोतीतर्फ फर्काइएको उहाले बताउनुभयो । गाडी फर्काएर दाउन्ने सडक खाली गर्ने र राजमार्ग निर्माणको ठेकेदार कम्पनीले फटाफट ग्राभेल राख्ने काम सुरु गर्ने ध्याउन्नले काम भइरहेको ढकालले जानकारी दिनुभयो ।
दुम्कीवासदेखि पश्चिम बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने सडकमा अझै ३ सय गाडी फसेको उनले सुनाए । त्यहाँ ३०, ४० वटा भारतीय ट्रक फसेका छन् । दाउन्ने सडक खाली नगराएसम्म टिपर बोकेका गाडी जान नसक्ने उनले सुनाउनुभयो ।
दाउन्नेमा हिलोको दलदलबाट निकास दिन कम्तीमा ५ सय ट्रक ग्राभेल राख्न पर्ने सडकका इन्जिनियरले आफूलाई रिपोर्ट दिएको गिरीले बताउनुभयो । आइतबारसम्म दाउन्नेमा अड्केका सबै गाडी हटाएर २, ३ दर्जन टिपरले ग्राभेल बोक्न थाल्ने प्रतिबद्धता ठेकेदारले गरेको गिरीले सुनाउनुभयो । वर्षात् रोकिए दाउन्नेमा ग्राभेल राखेर ३, ४ दिनमा राजमार्ग एकतर्फी सुचारु गर्न सकिने आंकलन छ ।
दाउन्नेमा गाडीको चाप हुन नदिन त्यहाँ दुम्कीवास र बर्दघाटबाट दाउन्ने पहाडमा कुनै पनि गाडी जान नदिन प्रहरी खटिएको छ । मुग्लिन हुँदै नारायणगढ(कावासोती(दाउन्ने जाने गाडी प्रहरीले मुग्लिनबाट पोखरा पठाइरहेको एसपी ढकालले जानकारी दिनुभयो ।
नौबिसे–मलेखु खण्ड आज आईतबारदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड भोलिदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । आईतबारदेखि मङ्गलवार बिहानसम्म रातिको १० बजेदेखि बिहान तीन बजेसम्म दैनिक पाँच घण्टा बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।
निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएको हो । काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदम घाटमा रोकिने छ ।
सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

