ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

चैत्र २५
पार्टीको नाम नागरिक जनमत, चिह्न ढकिया, पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने सहमति सहितको घोषणा हुने भएको छ ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने सहमति भएको बताईएको छ । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो । केही दिनपछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने भएको छ ।
कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने जानकारी दिनुभयो । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ । क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ । मस्यौदा समितिले चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिएको छ । वैशाख दोस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ मा घोषणा गरिने जनमतका उपाध्यक्ष खानले बताउनुभयो ।
एकताका लागि मधुवनको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्नुअघि जनमतका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच गुलरियामा छलफल भएको थियो । पार्टी एकीकरणका लागि वैशाख ५ र ६ मा टीकापुरमा नाउपाको बैठक बस्ने चौधरीले बताउनुभयो ।
जनमत अध्यक्ष राउतले राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व आफ्नो पार्टीले लिने जानकारी दिनुभयो । एकीकरणका लागि दुवै पार्टीबीच कुनै माग नभएको उल्लेख गर्दै अध्यक्ष राउतले भने, ‘केही कुरामा समझदारी नभए दुवै पार्टीले अडान छाड्ने छौं । एकीकरणको मुद्दा छिट्टै टुंगाउनेछौं । पहिचानको मुद्दा दुवै पार्टीको हो ।’ मस्यौदा समितिको बैठकमा दुवै पार्टीका उच्चस्तरीय नेता सहभागी छन् ।
नेताहरूले आगामी निर्वाचनमा तराई मधेशमा पहिचानवादी निर्णायक शक्ति बन्ने लक्ष्यका साथ पार्टी एकता हुने बताएका छन् । गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्तिले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुपातिकतर्फ ५ सिट पाएको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ७ सांसद छन् । लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६ औं स्थानमा रहेका नागरिक उन्मुक्ति र जनमत एक भए चौथो स्थानमा पुग्नेछ ।
एकीकरणको प्रक्रिया अघि बढेपछि मधेश प्रदेशमा जनमतका नेता–कार्यकर्तामा उत्साह देखिएको छ । एकीकरणले मधेशी र थारूबीच ल्याइएको फाटो हट्ने र तराई–मधेश पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म जोड्न बल पुग्ने उनीहरूको दाबी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *