सडक मर्मत गर्न बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको आउ-जाउ बन्द गरिने भएको छ ।
दाउन्ने खण्डमा हाल धुलो, खाल्डाखुल्डी भएकाले यात्रा कष्टकर छ । गाडीहरु बीच बाटोमै बिग्रिनाले यात्रुहरु घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता छ ।
त्यसैले जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व (नवलपुर)ले चैत २७ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी आउँदो २०८२ साल बैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म पनि सडक बन्द गरिने छ । यो अवधिमा अत्यावश्यक सेवाका गाडीहरुमात्र चल्न दिइने छ ।
शनिबार पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेसहितको टोलीले दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सम्बन्धित पालिका प्रमुख, ठेकेदार र आयोजनाका प्रतिनिधिहरुसहित बसेको बैठकले सवारी साधन बन्द गरेर सडक मर्मत तथा बिस्तारको कामलाई तीव्रता दिने निर्णय गरेको थियो ।

