फागुन ५ दाङ –
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभा बैठकलाई सोमबार सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, प्रविधिको प्रयोगबाट उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्नेछ । कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
कुनै पनि देश अर्काले नबनाइदिने भन्दै उहाँले हामी गर्न सक्छौँ भन्ने उच्च मनोबल राख्नुपर्ने ओलीले बताउनुभयो । विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।
उहाँले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभएको छ । सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।
सम्बोधनका क्रममा प्रदेश सरकारले १ हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण शुरू गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभयो । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको यो दोस्रो सम्बोधन हो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुभएको थियो ।
यसैबिच नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले घोराहीको जनसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । पार्टीैले आयोजना गरेको जनसभालाई सम्बोधन पश्च्यात उहाँले तुलसीपुर स्थीत कोमल रिर्सोटको उद्घाटन गरि आजै सोमबार अपरान्ह् राजधानी काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।
लुम्बिनी प्रदेशसभाले निमन्त्रणा गरेपछि आज नेपाली सेनाको हेलिकप्टर चढेर उहाँ दाङ पुग्नुभएको हो ।
कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्नुपर्छ’ः प्रधानमन्त्री ओली

