नेकपा एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले निष्कासनको सात दिनपछि सार्वजनिक गरेको ३६ पृष्ठको दस्तावेज प्रस्तुत गर्नुभएको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेका रावलको दस्ताबेजमा भनिएको छ, ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुभयो । आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमार्फत् रावलले पाँच दशकसम्म आफ्नोसमेत योगदान रहेको पार्टी एमाले सिद्धान्त र गन्तव्यहीन बनेकाले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति बनाउने निष्कर्षमा पुगेको घोषणा गर्नुभयोे ।
‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको छ’, रावलले सार्वजनिक गरेको ३६ पृष्ठको दस्तावेजमा भनिएको छ, ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ ।’
समर्थक र सहभागीले भरिएको हलबाट रावलले पार्टी गठनको अभ्यासमा मातृभूमि जागरण अभियान सुरू गर्ने निर्णय सुनाए, ‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ ।’
नौ बुँदे प्रष्टोक्ति
२०३२ सालदेखि आबद्ध पार्टीको सदस्यबाट आफूलाई निकाल्ने निर्णयलाई भीम रावलले केपी ओलीको तानाशाही, स्वच्छचारी र निरकुंश कदम भन्नुभएको छ । ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने, र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, तर पार्टीले प्रतिक्रियावादी र देशघाती भनेकाहरू, भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाठँ गरी, रावलको पत्रमा भनिएको छ ।
पार्टी सदस्यबाट निष्कासन गर्ने क्रममा एमालेले लगाएको आरोपबारे भने रावलले उल्टै ओलीलाई प्रतिप्रश्न गर्नुभएको छ । ‘कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा स्वयं केपी ओलीले नै नेकपा एमालेको देशभक्त, इमान्दार पंक्ति र नेपाली जनतालाई थुप्रै प्रश्नहरूको जवाफ दिनुपर्ने देखिएको छ’, रावलको डकुमेन्टमा भनिएको छ ।
गत ६ कात्तिक ६ गते पार्टीहितविपरीतका गतिविधिमा संलग्न रहेको आरोपसहित एमालेले रावलसँग स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ नदिएका भीम रावललाई १० पुसको सचिवालय बैठकबाट निष्कासन गरिएको थियो ।
रावलले भने स्पष्टीकरण र पार्टी निष्कासनको निर्णय हुँदा गलत तथ्य प्रस्तुत गरिएको दाबीसहित प्रतिप्रश्न गर्नुृभएको छ । ९ शीर्षकमा व्याख्यासहित गरिएको प्रतिप्रश्न मूलतः २०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनयताका घटनाक्रम र ओलीसँग सम्बन्धित छन् ।
१. एकताको महाधिवेशन हुन दिइएन

दशौं महाधिवेशनलाई ओलीले एकताको महाधिवेशन हुन नदिएकाले समस्या बढ्दै गएको रावलको निष्कर्ष छ । आठौंमा झलनाथ खनाल र नवौंमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ओलीले दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको धज्जी उडाएका घटना विवरणहरू रावलले सार्वजनिक गर्नुभएको छ ।
२. उपाध्यक्षको प्रस्ताव झुटो
सार्वजनिक प्रचारमा ल्याइएको जस्तो महाधिवेशनका बेला आफूलाई पदाधिकारी प्रस्ताव नगरिएको रावलले प्रष्टोक्ति दिनुभएको छ । बरू ओलीले मन लागेको पदमा लड्न पाइन्छ भनेपछि अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको रावलले जवाफ दिनुभएको छ ।
पदाधिकारी लड्ने व्यक्तिले केन्द्रीय सदस्यको उम्मेदवार हुन नहुने ओलीको कुरा सुनेरै आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको रावलले बताएका छन् । यद्यपि, ९०४ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा निर्वाचन समितिका अध्यक्ष बिजय सुब्बाले बन्दसत्र हलमा प्रस्तुत गरेको रावलको पत्रमा लेखिएको छ ।
३.नसोधी सल्लाहकार
पार्टी अध्यक्ष पदमा पराजित भइसकेपछि आफूले ओलीलाई धन्यवाद दिन समेत नपाएको गुनासो रावलको छ ।विगतमा अध्यक्ष हार्नेले जित्नेलाई बधाई दिने परम्परा रहे पनि आफूलाई बोल्न नदिएको तर्क रावलले गर्नुभएको छ ।
सल्लाहकारको भूमिका निर्वाह नगरेको भन्ने आरोपमा रावलले आफूसँग कुनै सल्लाह नभएकाले त्यो पद स्वीकार नगरेको जवाफ दिनुभएको छ । ‘पार्टीले नसोधी वा कुनै व्यक्तिको इच्छाविपरीत कुनै जिम्मेवारी दिएको स्थितिमा विगतमा सम्बन्धित व्यक्तिले नमानेका दर्जनौं घटना मैले देखेको र जानेको छु’, रावलले भन्नुभएको छ ।
४. सम्पर्कमा नरहेको प्रचार झुटो
पार्टीको सम्पर्कमा नआएको भन्ने तथ्य खण्डन गर्न विभिन्न नेताहरूसँग भएको कुराकानी र ओलीसँग भेट्न गरिएको प्रयासहरू रावलले सार्वजनिक गर्नुभएको छ । समर्थकहरूले भरिएको हलमा आफ्नो पत्र बाचन गरेका रावलले दशौं महाधिवेशनपछि कुराकानी र भेटेका नेताहरूको लामै सूची समेत सार्वजनिक गर्नुभएको छ ।
५. पार्टी नीतिविरुद्ध बोलेको छैनपार्टीका नीति, निर्णय र नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्ने आरोपमा रावलले उल्टै चुनौती दिनुभएको छ
६. संवादमै थिए, अनिच्छा होइन
आफूसँग सम्वाद गर्न गठन भएको कार्यदलका नेताहरूसँग आफू लगातार सम्वादमा रहेको रावलको जिकिर छ । बरु भीम रावलसँग भेट्ने र कुरा गर्नेको नम्बर काटिन्छ भन्ने चेतावनी पार्टी नेतृत्वबाट दिइएको उल्टो आरोप रावलले लगाउनुभएको छ ।
७. समानान्तर गतिविधि गरेको थिएन
पार्टी निर्देशनको अवज्ञा गरेको र समानान्तर गतिविधि गरेको भन्ने आरोप पनि काल्पनिक र भ्रमपूर्ण रहेको रावलको जवाफ छ । पार्टी नेता र कार्यकर्तासँग भेटघाट हुने गरे पनि कुनै नेता र कमिटीका विरुद्ध गतिविधि नगरेको रावलको प्रष्टोक्ति छ ।
८. पार्टीको प्रतिष्ठा बढाएको थिएँ

सार्वजनिक अभिव्यक्ति मार्फत् पार्टीको प्रतिष्ठामा आँच पुर्याएको आरोप आफूलाई लगाउनु हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ । बरु पार्टीको नीतिको पक्षमा उभिएर प्रतिष्ठा बचाउने काम गरेको दाबी उहाको छ । उल्टै ओलीको कदमका कारणले पार्टीको प्रतिष्ठामा गम्भीर प्रश्न उठेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
९.स्पष्टीकरण औचित्यहीन
देश, जनता र पार्टीका पक्षमा आफूले गरेको संघर्षहरू सम्झदै भीम रावलले महासचिव शंकर पोखरेलको नामबाट आएको स्पष्टीकरणलाई औचित्यहीन भन्नुभएको छ ।ओलीलाई ज्यान मुद्दामा जेल बसेको भन्ने शब्द नै प्रयोग गरेका रावलले सात दिने स्पष्टीकरणको जवाफ सार्वजनिक गर्नु उचित ठानेको बताउनुभएको छ ।
यसरी स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गरेको रावलले आफ्नो दस्तावेजको दोस्रो खण्डमा भने ओलीमाथि गम्भीर आरोपहरूको वर्षा गरेका छन् । ओलीमाथि लगाइएको आरोपहरू ७४ बुँदा र उपबुँदाहरूमा व्याख्यासहित प्रस्तुत गरिएका छन् । रावलले आफूले उठाएका प्रश्नको जवाफ नदिए आगामी चुनाव ०८४ बाट एमाले पतन हुने चेतावनी पनि दिनुभएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *