मंसिर २८
नेपाल पत्रकार महासङ्घमा नयाँ नेतृत्व चयनको लागि आज चुनाव हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । तर दाङ जिल्लामा भने सर्बसम्मत बनाइएको छ । दाङमा सन्तोष सुबेदीको नेतृत्वमा सर्बसम्मत गरिएको हो । त्यस लगायत अन्य केही जिल्लामा सहमितबाटै निर्वाचन सम्पन्न भएका छन् ।
चुनावका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस पटकको चुनावमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ ।
केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार आफ्नो परिचय खुल्ने म्याद भएको महासङ्घद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्वीरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्न सकिनेछ ।
केन्द्रीय समितिको अध्यक्षका लागि निर्मला शर्मा, रमेश विष्ट,देवीप्रसाद सापकोटा र लालसिंह लामाले उम्मेदवारी दिनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि दीपक आचार्य, गोविन्दप्रसाद चौलागाई, र रोसन पुरी तथा उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ ।
समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिनुभएको छ भने महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *