२२ कात्तिक
सूर्यको उपासना गरी छठका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने छन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।
छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
दाङ सहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा दाङ का बिभिन्न स्थानमा छठघाट निर्माण गरिएको छ ।
यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु पनि छठ पूजास्थल जाने कार्यक्रम छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ ।
