कात्तिक १९
भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सोमबार सरकारी कार्यालय खुल्ने छैनन्। सरकारले सोमबार पनि तिहारकै बिदा दिएको छ। तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्।
अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा)को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन।
२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो। नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो। त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ।
यसैबीच तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ । तराई मधेसका जिल्लामा छठको तयारी शुरु भएको हो । दाङको देउखुरी क्षेत्र लगायत नदि,तलाउ किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ । विशेषगरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।
छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुलालगायत किनमेलका लागि जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेहरुको भीडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् । अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।
घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ ।