ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

एजेन्सी, असोज २३ गते
अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफान शक्तिशाली बनेको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली भई आतंक फैलिएको छ ।
यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।
सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ ।
मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।
ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गर्नुभएको छ ।
राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ ।
नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ ।
यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
अमेरिकी मौसमविदहरुका अनुसार मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ । त्यसैले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । भावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन् ।

यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ ।
अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ । केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *