सुशील बस्नेत
तुलसीपुर,१५ असोज
जेष्ठ नागरिकका लागि राप्ती लाईफ केयर अस्पताल तुलसीपुरले कम्तिमा १० देखि २५ प्रतिसत सम्म छुट दिने भएको ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्र्दभमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक जिवन भण्डारीले १० देखि २५ प्रतिसत सुबिधा स्वीकार गर्दै सम्झौता गर्न जेष्ठ नागरिक समाजलाई औपचारिक रुपमा आह्वान गर्नुभएको छ । नीजि अस्पतालका आफ्नै समस्याहरु भएपनि सामाजिक उत्तरदायित्वलाई बहन गर्ने उदेश्यका साथ आजको यो कार्यक्रमबाट ६० बर्ष माथि उमेर समुहका जेष्ठ नागरिकलाई अस्पतालबाट दिईने सुबिधामा १० देखि २५ प्रतिसत सम्म छुट दिने घोषणा गर्छु भन्नुभयो । त्यसबाहेक बिपन्न र साहारा बिहीन अबस्थाका एकल तथा दम्पत्ति जेष्ठ नागरिकलाई भने जेष्ठ नागरिक समाजको सिफारिसमा सम्पूर्ण छुट उपलब्ध गराईने उहाँको प्रतिबद्धता थियो ।
नेपाल बैकर्श एशोसियसन तुलसीपुरका अध्यक्ष एवं लक्ष्मि बिकास बैंकका शाखा प्रमुख रञ्जन कोईरालालले बैंकको कार्यबिधिका बारेमा जानकारी दिनुहुदै हरेक ५० बर्ष माथिको उमेर समुहलाई जेष्ठ नागरिकको सुबिधा लिन पाउने ब्यबस्था छ, भन्नुभयो । उहाँले भन्नुभयो त्यसो सुबिधा भनेकै सम्मान बचत खाता हो । त्यस्तै, प्रत्येक जेष्ठ नागरिकका लागि एउटा बैकमा बिमाको सुबिधा लिन पाउने ब्यबस्था रहेको कोईरालाले बताउनुभयो । २० हजार सम्मको ओ.पी.डि. सेवा,अस्पतालमा भर्ना भएको बिल बुझाए ८० हजार सम्म र दुर्घटना बिमा बाफत ५ लाखको सुबिधाको ब्यबस्था रहेको तर अझै पनि जानकारी नहुदा लिनेको संख्या अत्याधिक कमि भएको कोईरालाले जानकारी दिनुभयो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर बिकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जेष्ठ नागरिकका लागि सामाजिक सेवा ईकाइ सञ्चालन गरेको भएपनि प्रभाबकारी हुन नसकेको स्वीकार गर्नुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, जेष्ठ नागरिकलाई ५० प्रतिसत छुट र ८० बर्ष माथि जेष्ठ नागरिकलाई नि ःशुल्क उपचार भएपनि कार्यान्वयन गर्न पैसाको अभावले समस्या भएको बताउनुभयो । डाईलासीस सेवा बाफतको रकमको अभाव भएको बताउनुभयो । ५० सैयाको अस्पतालको जनशक्तिबाट २०० सय सैयाको सेवा दिन निकै कठिन रहको उहाँको भनाई छ ।
जेष्ठ नागरिकले सबैभन्दा बढि यातायात सेवामा गुनासो गरेका थिए । उनीहरुले जेष्ठ नागरिक मैत्री यातायात सेवा हुन नसकेको बताएका थिए ।
सम्बोधन र सम्मानमा कमि छ भने एउटा सार्वजनिक यातायात सेवामा २ वटा जेष्ठ नागरिकका लागि ५० प्रतिसत छुट हुनुपर्ने ब्यबस्था कानुनमा भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेको जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले बताउनुभयो । कार्यक्रममा सहभागि त्रिसिदेश्वरी राप्ती यातायात प्रा.लि. का सचिव प्रीतम श्रेष्ठ र अम्बेकिश्वरी यातायात प्रा.लि.का भिमबहादुर खत्रीले प्रयास भईरहेको भएपनि कहि कतै त्रुटि भए तत्काल जानकारी गराउन आग्रह गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डि.सी.को सभापतित्वमा भएको कार्यक्रममा जेष्ठ नागरिकहरु पूर्णबहादुर खडका,कृष्ण के.सी.,शेषमणी रिजाल,गोर्वद्धन गौतम,भीष्म प्रसाद अधिकारी, केशव डाङी,नेत्रमणी शर्माले जेष्ठ नागरिकका लागि भएका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । शान्ति समाजका निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेतले जेष्ठ नागरिक सम्बन्धि कानुनी ब्यबस्थाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सदस्य भिमलाल मरासिनी र सहजिकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो । मानव अधिकार तथा शान्ति समाजले प्रत्येक बर्ष अक्टोवर १ तारिखका दिन अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउदै आएको छ ।