रुकुम पश्चिम,भाद्र २४
किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी (डिबी) कारागार नै नबसी रिहा हुनु भएको छ ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो । अदालतले उहाँलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा हुनु भएको हो । श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उहाँलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गर्नु भएको थियो ।
अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो । तर पूर्व रुकुममा कारागार नभएकाले उहाँलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो ।
पैसा तिरेर लुम्बिनीका सांसद केसी रिहा

