देउखुरी, भाद्र २४, २०८१
भारतीय सिमाबर्ती क्षेत्र दाङको कोईलाबासबाट एक वर्षमा २८ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको छ ।
मानव वेचविखन र ओसार पसारको रोकथाम तथा नियन्त्रणमा क्रियाशील संस्था शान्ति पुर्नस्थापना गृहले २८ जना महिला तथा बालबालिकाहरुको कोइलावासबाट उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकाहरुलाई पारिवारिक पुनर्मिलन गराउन सफल भएको संस्थाले जनाएको छ भने सात सय ३१ जना महिला तथा बालबालिकाहरुलाई बोर्डर क्षेत्रबाट मानव बेचविखन तथा ओसारपसार सम्बन्धमा सचेतना तथा मनोसामाजिक परामर्श प्रदान गरीएको शान्ति पुर्नस्थापना गृह कोइलावासका परामर्शदाता सीमा जिसीले जानकारी दिनुभयो । मानव बेचविखन तथा ओसारपसारका प्रमुख कारक तत्वहरुको पहिचान गर्दै यस्ता जघन्य अपराधहरुलाई न्यूनीकरण तथा निरुत्साहित पार्न शान्ति पुर्नस्थापना गृह कोइलाबासले वर्षभरि विभिन्न कार्य गरेको बताउनुभयो ।
यस्तो अपराधमा संलग्न ब्यक्तिहरुलाई निरुत्साहित पार्ने, बेचविखनमा परेकाहरुको उद्धार गर्ने, बोर्डरबाटै छिर्न नदिने, स्वदेश फिर्ता गराउन पहल गर्ने, कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, सुरक्षित आवास र पारिवारिक पुनर्मिलन गराउने, स्थानीय सरकार, गैरसरकारी संघसंस्था, सुरक्षा निकायसँग समन्वय सहकार्य गर्ने र विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्नेलगायतका कामहरु यस संस्थाले गर्दै आएको परामर्शदाता जिसीले बताउनुभयो ।

दलालको फन्दा वा प्रलोभनमा परी नेपाली महिला तथा बालबालिकाहरु नेपाल भारत सीमा क्षेत्रका विभिन्न नाकाहरुबाट भारतमा लैजाने र जाने प्रक्रियालाई रोकथाम गर्न शान्ति पुनस्र्थापना गृह कोइलावासले स्थानीय सरकार र सुरक्षा निकायको समन्वय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको गढवा गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष अब्दुल खालिक सिद्दिकीले बताउनुभयो । कोइलाबासमा २०७७ सालमा यो संस्थाको डेस्क स्थापना भएपछि महिला तथा बालबालिकाहरुको अवैध ओसारपसारमा कमी आएको अध्यक्ष सिद्दिकीले बताउनुभयो ।
मानव बेचविखन र ओसारपसार नियन्त्रण तथा रोकथाममा क्रियाशील यस संस्थाले २०७७ सालको शुरुवातमै कोइलाबासमा कार्यालय स्थापना गरी काम शुरु गरेको जिसीले बताउनुभयो । नवलपरासी, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मकवानपुर, रसुवा, सिन्धुपाल्चोक, दाङ, कैलाली र ललितपुर गरी देशका १४ जिल्लाका नेपाल–भारत सीमा क्षेत्रहरुमा यस संस्थाका कार्यालयहरु सञ्चालनमा छन् । २०८० को श्रावण महिनादेखि २०८१ को असार मसान्तसम्म दाङको कोइलाबास बोर्डरमा रहेको शान्ति पुनस्र्थापन गृहले सात सय ३१ महिला तथा बालबालिकाहरुलाई कार्यालयबाटै मनोसामाजिक परामर्श प्रदान गरेको र २८ जना महिला तथा बालबालिकाहरुको उद्धार गरी पारिवारिक पुनर्मिलन गराउन सफल भएको जनाइएको छ । संस्थाको आफ्नै पहलमा बोर्डरबाटै १२ जना महिला तथा बालबालिकाको उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको छ भने नेपाल प्रहरीको रोहवरमा सिमानाबाटै १४ जना महिला तथा बालबालिकाहरुको उद्धार गरी परिवारलाई हस्तान्तरण गरिएको छ । भारतमा बेचिएका एकजनाको उद्धार गरी परिवारलाई बुझाइएको छ भने अर्को एकजनाको उद्धार गरी पुनस्र्थापनाका लागि सिफारिस गरिएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *