दाङ,१० भाद्र
हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज दाङका कृष्ण मन्दीरमा ठूलो मेला लाग्दछ। तुलसीपुरको श्रीकृष्णमन्दीर दुधेनामा ३ दिवसीय कार्यक्रम शुरु गरिएको छ । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गयराति कृष्ण आराधानाको पुजा गरि शुभारम्भ गर्नुभएको हो । त्यस्तै,तुलसीपुर ११ बेल्टाकुरामा समेत कृष्णको महिमामा बिशेष कार्यक्रम गर्ने प्रचलन छ । गठे मंगलबारदेखि शुरु गरिएको लाखे नाचको बिर्सजन गर्ने र मेला लाग्ने चलन बिगतदेखि छ ।
यता,राधामाधव समितिले पनि बिशेष कार्यक्रमका साथ श्रीकृष्णअष्टमी मनाउदै आएको तुलसीपुर केन्द्रका निर्मल नेपालीले जानकारी दिनुभयो
