प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै,लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा आउने

६ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।
कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् । उहाको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् ।

लुम्बिनीमा मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

५ साउन, देउखुरी । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिदै हुनुहुन्छ । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिनुभयो ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषदमा कार्यविभाजन गरी पुनर्गठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
माओवादी संसदीय दलका नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्री महरालाई माओवादीका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकरएक गरी १२ जना प्रदेशसभाको समर्थन छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *