घोराही, २० जेष्ठ
स्वर्गद्वारी गुठीपीडित मोही किसानले घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको छ । पटक पटक सम्झौता गरेपनि आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका संघर्ष समितिलाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।
गुठीपीडित मोही किसान संघर्ष समितिका सदस्य लाल बहादुर चौधरीले प्रहरीले लाठी चार्ज गर्दा तिन जना घाईते भएको जानकारी दिनुभयो । उहाँले सत्यनारायण चौधरीको टाउकोमा चोट लागेको, रूपनारायण चौधरीको छातिमा र देवराज चौधरीको खुट्टामा चोट लागेको बताउनुभएको छ । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले शुरुमा मालपोत कार्यालयमा ताला लगाइएको र पछि प्रहरीले ताला तोडेर लाठी चार्ज गरेको बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले शान्तिपूर्ण रुपमा गर्ने आन्दोलन गर्न पाइने बताउँदै सरकारी कार्यालयमा तालाबन्दी गर्न नपाइने बताउनुभयो । उहाँले प्रहरीले सामान्य बल प्रयोग गरेर तालाबन्दी गर्न आएकालाई हटाइएको बताउनुभयो । ‘शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाइन्छ तर सेवाग्राहीलाई नै दुःख दिने गरी सरकारी कार्यालयमै तालाबन्दी गर्न पाइदैन’ उहाँले भन्नुभयो, ‘प्रहरीले सामान्य बल प्रयोग गरेर उहाँहरूलाई ताला बन्दी गर्न दिइएन ।’ प्रमुख जिल्ला अधिकारी सुवेदीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको जानकारी दिनुभयो । आन्दोलनकारीले नै फालेको ढुँगा लागेर एकरदुइर् जना घाईते भएको प्रजिअ सुवेदीको भनाई छ ।

