अमिलीया देउखुरी, चैत्र १७
नेपाली कांग्रेसका नेता एवम पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा निर्माण गरिएको पूर्णकदको शालिकको पार्टी सभापति शेरबहादुर देउवाले अनावरण गर्नुभएको छ ।
खड्काको निधन भएको छ वर्षपछि पार्टी सभापति देउवा शालिक अनावरण गर्नुभएको हो । पूर्वपश्चिम राजमार्गको अमिलियामा एक वर्षअघि शालिक निर्माण गरिएको थियो ।
२०७६ चैत १९ मा शिलान्यास गरिएको स्वर्गीय खडकाको पूर्णकदको शालिक अनावर गर्नुहुदै सभापति देउवाले दिवंगत नेता खड्काको खुलेर प्रशंसा गर्नुभयो । खड्का आफ्नो जेल जीवनको साथी समेत रहेको स्मरण गर्दै उहाँले दिवंगत खड्काको पार्टीमा गरेको योगदानको चर्चा समेत गर्नुभयो । ‘स्वर्गीय खड्का २०४६ सालको ब्यबस्था परिर्वतन सगँसगै पटक–पटक मन्त्री हुनुभएको थियो । उहालाई पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा २०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर हुनुभएको थियो । दुई करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । वैधानिकरूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । २०७० मा जेलमुक्त हुनुभएको थियो । कांग्रेसमा पूर्व महामन्त्रीको जिम्मेवारीसम्म पुग्नुभएका खड्कालाई कुशल संगठक र कार्यकर्ताको संरक्षकको रुपमा चित्रण गरिन्छ । खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो ।
पार्टी जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता तथा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय,सहमहामन्त्री किशोरसिंह राठोर,केन्द्रीय सदस्य दीपक गिरी, गोविन्दबहादुर शाह, पूर्व केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, खड्का सुपुत्र तथा लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्का, निवर्तमान राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, पूर्वजिल्ला सभापति वीरकेशरी गौतम, कीर्तिबहादुर खड्का, मोहनलाल वली, क्षेत्रीय सभापतिहरु जगतबहादुर खड्का, भीमप्रकाश खड्का, भेषराज पाण्डेलगायतका वक्ताहरुले खुमबहादुर खड्काको योगदानको स्मरण गर्नुभयो ।
जिल्ला उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव अर्जुन योगीले गर्नुभएको थियो ।

