ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026


काठमाडौँ,चैत्र ७

नेपाल पत्रकार महासङ्घले केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ र २२ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । महासङ्घको आज बसेको केन्द्रीय समिति बैठकले महासङ्घका सबै प्रदेशको अधिवेशन आगामी वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभाग प्रमुख शन्तराम बिडारीले जानकारी दिनुभयो ।

महासङ्घका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एशोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिएको बैठकले अधिवेशन सम्पन्न गर्दा महासङ्घबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ ।

बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ ।

सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, बागमती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा साङ्गठनिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल गरेको बैठकले यस वर्षको महाधिवेशनलाई विश्वव्यापीरुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको सङ्कटका विषयमा छलफल गर्ने र त्यो निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्य नै महाधिवेशनमा सहभागी हुने महासङ्घको विधानले व्यवस्था गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *