भोजपुर,चैत ४ गते
भोजपुरको हतुवागडी गाउँपालिका ७ मा खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा ३ जना गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।
भोजपुर नगरपालिका १२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुसार जंगलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको हो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो । भने सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो निभाउन खटिएका थिए ।

